एजेन्सी – प्रिमियर लिग क्लब लिड्सका ब्राजिलियन फरवार्ड राफिन्हा अहिले जुन लयमा छन्, त्यसको श्रेय लिड्सका प्रशिक्षक बिइल्सालाई जान्छ। लामो समय देखि फुटबल प्रशिक्षकको रुपमा धेरै क्लबमा काम गरिसकेका बिइल्साकै कारण राफिन्हा अहिले ब्राजिलको मात्र नभई विश्वकै उम्दा स्ट्राइकरको रुपमा तरंक पैदा गरिरहेका छन्।
केहि दिन अगाडी ब्राजिलले फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा उरुग्वेमाथि शानदार जित निकाल्यो। उक्त खेलमा राफिन्हाले प्रभावशालि प्रदर्शन गरेका थिए। उरुग्वेमाथि हावी हुँदै उनले दुई गोल गरेका थिए।
उरुग्वे विरुद्धको खेलपछि ब्राजिलका प्रशिक्षक टिटेले लिड्सका प्रशिक्षक मार्सेलो बिइल्सालाई धन्यवाद समेत दिए। राफिन्हाको विकासमा महत्वपूर्ण भूमिका खेलेका बिइल्सालाई टिटेले राफिन्हा जस्तो खेलाडीलाई ब्राजिलको राष्ट्रिय टोलीको लायक बनाइदिएकोमा धन्यवाद दिए।
“म सार्वजनिक रुपमा बिइल्सालाई धन्यवाद दिन चाहन्छु। राफिन्हासँग काम गरेको र उनलाई राष्ट्रिय टीमको लायक बनाएकोमा उनलाई र प्रशिक्षण टोलीका सबैलाई धन्यवाद।”,टिटेले भनेका थिए।
राफिन्हा पनि आफ्नो विकासमा बिइल्साको महत्वपपूर्ण भूमिका रहेको स्वीकार्छन्। केहि समय अगाडी एक अन्तर्वार्ताका क्रममा उनले बिइल्साका कारण आफूमा धेरै परिवर्तन आएको बताएका थिए। एक खेलाडीको क्षमतालाई कसरी उजागर गर्नुपर्छ भन्ने बिइल्साले राम्रोसंग बुझेको र त्यसैले गर्दा आफू निरन्तर सुधार उन्मुख भएको उनको भनाई थियो।
बिइल्सा तीनै प्रशिक्षक हुन्, जसले लिड्स युनाइटेडलाई प्रिमियर लिगमा प्रमोसन गराएका थिए। गएको १६ वर्ष देखि प्रिमियर लिगमा प्रमोट हुन नसकेको लिड्स बिइल्साकै कारण प्रिमियर लिगमा दोस्रो सिजन खेलिरहेको छ।

