एजेन्सी – प्रिमियर लिग क्लब लिड्सका ब्राजिलियन फरवार्ड राफिन्हाका लागि युरोपमा विभिन्न क्लबहरु बीच प्रतिष्पर्धा हुने भएको छ। लिड्सका सबै भन्दा प्रभावशाली फरवार्डको रुपमा रहेका राफिन्हालाई अनुबन्ध गर्ने युरोपका ठूला कलाबहरु बीच प्रतिष्पर्धा हुने भएको हो।
राफिन्हा लिड्सको मुख्य स्ट्राइकरको रुपमा रहेका छन्। ब्राजिलको राष्ट्रिय फुटबल टोलीमा समेत समावेश भइसकेका उनले विश्वकप छनौटमा उरुग्वे विरुद्ध दुई गोल गरेर तहल्का मच्चाएका थिए। त्यसअगाडी ब्राजिलका लागि डेब्यु गर्नेक्रममा समेत उनले दुई असिस्ट दिएका थिए।
राफिन्हा गएको केहि समय देखि लिभरपुलको नजरमा छन्। लिभरपुलले राफिन्हालाई महत्वका साथ पच्छ्याइरहेको छ। क्लबका प्रमुख स्ट्राइकरहरुको ढल्कँदो उमेरसँगै लिभरपुललाई केहि युवा स्ट्राइकर चाहिएको छ। जसकारण लिभरपुलले राफिन्हालाई पच्छ्याइरहेको छ। राफिन्हाका एजेन्टले पनि लिभरपुल राफिन्हालाई अनुबन्ध गर्न इच्छुक रहेको खुलासा गरिसकेका छन्।
लिभरपुलसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) पनि राफिन्हालाई भित्रयाउने दौडमा छ। विश्वकप छनौटमा देखाएको कौशलता पछि राफिन्हा पिएसजीको नजरमा परेका हुन्। बताइएअनुसार पिएसजीका नेयमार पनि व्यक्तिगत रुपमा राफिन्हालाई पिएसजीमा देख्न चाहन्छन्।
माउरो इकार्डीको ठेगान नभएका कारण पनि राफिन्हा पिएसजीको प्राथमिकतामा रहने देखिन्छ। नेयमारले समेत व्यक्तिगत रुपमा चासो देखाएपछि पिएसजी राफिन्हालाई लिएर पूर्णरुपमा त्यसतर्फ केन्द्रित भएको छ।
पछिल्लो घटनाक्रम हेर्दा आउने ट्रान्सफर विन्डोमै राफिन्हालाई लिएर लिभरपुल र पिएसजी बीच प्रतिष्पर्धा हुने देखिन्छ। दुवै टोली राफिन्हालाई भित्रयाउन अहिले देखि लबिङमा जुटेका छन्। राफिन्हाका एजेन्ट डेकोले राफिन्हाका लागि आधिकारी प्रस्ताव आइनसकेको भएपनि विभिन्न क्लबहरुले आफूलाई सम्पर्क गरेको बताए। त्यसमध्ये लिभरपुल पनि रहेको डेकोको भनाई छ।

