प्लेअफ खेल्ने १२ टोलीको टुंगो लाग्यो ! कुन-कुन देश परे ? [सूची सहित]

एजेन्सी – फिफा विश्वकप २०२२ कतारको छनोट चरण अन्तर्गत युरोपबाट विश्वकपमा छनोट हुन प्लेअफ खेल्ने १२ टोलीको टुंगो लागेको छ । मुख्य छनोट अन्तर्गत समूहको दोस्रो स्थानमा रहेको र नेसन्स लिगको वरीयताअनुसार टोलीको छिनोफानो भएको हो ।

सन् २०२२ मार्च महिनामा हुने प्लेअफ खेलका लागि ड्र भने अर्को साता हुनेछ । प्लेअफको ड्रमा टोलीहरुलाई दुई पटमा विभाजन गरिएको छ । शीर्ष ६ टोलीले पहिलो चरणमा दोस्रो पटको टोलीसँग खेल्नेछन् । यसपटक प्लेअफमा दुई लेगको खेल नभएर दुई चरणमा १-१ खेल हुनेछन् ।

प्लेअफबाट तीन टोली छनोट हुने भएकाले १२ टोलीलाई तीन समूहमा विभाजन गरिनेछ । हरेक समूहमा सेमिफाइनल र फाइनल खेल हुनेछ । फाइनल खेलको विजेताले विश्वकपमा स्थान पक्का गर्नेछ । छनोटको समीकरण अनुसार पोर्चुगल र इटालीले फाइनल खेल्नुपर्ने समिकरण पनि बन्ने सम्भावना छ ।

प्लेअफ ड्रको पट १ मा रहने देशहरु : पोर्चुगल, स्कटल्यान्ड, इटाली, रुस, स्विडेन, वेल्स

प्लेअफ ड्रको पट २ मा : टर्की, पोल्यान्ड, नर्थ म्यासेडोनिया, युक्रेन, अष्ट्रिया, चेक रिपब्लिक

प्लेअफको सेमिफाइनल खेल २४ वा २५ मार्चमा हुनेछन् । फाइनल खेल भने २८ वा २९ मार्चमा हुनेछ ।

प्रकाशित : बुधबार, मङि्सर ०१, २०७८०८:२२

अन्ततः अर्जेन्टिना पनि विश्वकपका लागि छनौट !