रियल मड्रिडका स्ट्राइकर करिम बेन्जेमालाई यस वर्षको ब्यालोन डी’ओर अवार्ड जित्ने प्रमुख दाबेदारको रूपमा धेरैले हेरेका छन्। यस्तोमा फ्रेन्च स्ट्राइकरले स्पष्ट रूपमा आफ्नो नजर उक्त अवार्डमा राखेका छन्।

फ्रान्सेली खेलाडीले हिजो फिनल्याण्डसँगको विश्वकप छनोट खेलमा फ्रान्सका लागि गोल गरेपछि बालोन डी’ओर जित्ने आशा व्यक्त गरेका हुन्। “१५ दिनमा ब्यालोन डी’ओर? खैर, हामी हेर्नेछौं, कुनै पनि अवस्थामा म जित्ने आशा गर्छु,” करिम बेन्जेमालाई टेलिफुटले उद्धृत गरेको थियो।

आफ्नो करियरमा पहिलो पटक रियल म्याड्रिडका फरवार्डसँग विश्वको उत्कृष्ट खेलाडी घोषित हुने राम्रो मौका छ । उनले पछिल्लो दुई महिनामा थियरी हेनरी, इभान राकिटिक र कार्लो एन्सेलोटी जस्ता धेरै फुटबल जगतका चर्चित व्यक्तित्वको समर्थन प्राप्त गरेका छन्। यसैबीच बेन्जेमाले हालै मात्र यस वर्षको ब्यालोन डी’ओर अवार्ड जित्ने आफ्नो सम्भावनाबारे चर्चा गर्दै यो आफ्नो बाल्यकालदेखिको सपना रहेको बताएका थिए।

पूर्व लियोन स्ट्राइकरले अक्टोबरमा Canal+ सँगको अन्तर्वार्तामा भने,”ब्यालोन डी’ ओर जित्नु ? हो, त्यो मैले बाल्यकालदेखि देखेका धेरै सपनाहरू मध्ये एक हुनेछ। पक्कै पनि मैले बाल्यकालमा यो सपना देखेको थिएँ।”

