शनिबार वाटफोर्डसँग ४-१ ले पराजित भएपछि ओले गुन्नार सोल्स्कजायरलाई म्यान्चेस्टर युनाइटेडले क्लबको प्रबन्धकबाट बर्खास्त गरेको छ। जसपछि धेरै प्रशिक्षकहरू ओलेका सम्भावित उत्तराधिकारीको रूपमा देखा परेका छन्। जसमा हाल स्पेनिस राष्ट्रिय टोलीका प्रशिक्षक रहेका लुइस एनरिकलाई पनि उम्मेदवारको रूपमा उल्लेख गरिएको छ।
सिजनको राम्रो सुरुवात गरेको युनाइटेडले ओलेको प्रशिक्षणमा पछिल्ला ७ लिग खेलमा भने मात्र एक जीत निकाल्न सफल भयो। जसमा लिभरपुल विरुद्धको ५-० को लज्जास्पद हार पनि सामेल रहेको छ। हाल रेड डेभिल्स लिगको सातौँ स्थानमा रहेको छ। स्काई स्पोर्ट्सका अनुसार, म्यानचेस्टर युनाइटेडका स्टार क्रिस्टियानो रोनाल्डोले सोल्स्कजायरको वर्खास्त पछि स्पेनका प्रशिक्षक लुइस एनरिकलाई क्लबले टोलीको जिम्मेवारी दियोस् भन्ने चाहन्छन्।
सोल्स्कजायरको सम्भावित उत्तराधिकारीको रूपमा उभिएका अन्य धेरै नामहरू पनि रहेका छन्, जसमा रियल म्याड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदान, लेस्टर सिटीका प्रबन्धक ब्रेन्डन रोजर्स र पेरिस सेन्ट-जर्मेनका रणनीतिकार मौरिसियो पोचेटिनोको नाम रहेको छ।
युनाइटेडसँग आफू जोडिने चर्चा चल्दै गर्दा स्पेनिस प्रशिक्षक एनरिकेले पनि यसमा आफ्नो प्रतिक्रिया दिएका छन्। यसबारे प्रश्न गर्दा पूर्व बार्सिलोना प्रशिक्षकले आफू हाल स्पेनिस टोलीसँग नै आफ्नो मन रहेको बताएका छन्। एक पत्रकारले यसबारे प्रश्न गर्दा उनले भने,”के यो अप्रिल फूल दिवस हो? म वास्तवमा स्पेनी राष्ट्रिय टोलीको प्रशिक्षक नै रहन चाहन्छु।”

