काठमाडौँ – प्रदेश नम्बर दुईका मुख्यमन्त्रीसहित अन्य मन्त्री भएको तस्विरमा जुत्ता प्रहर गरेको आरोपमा प्रहरीले जनकपुरबाट चार जनालाई नियन्त्रणमा लिएको छ।
मुख्यमन्त्रीसहित आधा दर्जन मन्त्रीको तस्बिर भएको ब्यानरमा जुत्ता हानेको आरोपमा प्रहरीले शुक्रबार जनकपुरको जिरोमाइलमा चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा रोशन सिंह राणा, रोशन ठाकुर, विमलेश चौधरी र शंकर साह रहेका छन्। पक्राउ परेकाहरुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय तर्फ लागेको बताइएको छ।
भौतिक विकास निर्माण कार्य सम्पन्न गरेपछि पनि विभिन्न मन्त्रालयबाट भुक्तानी नपाएको भन्दै प्रदर्शनमा उत्रिएका उपभोक्ता समितिका सदस्यहरुले मन्त्रीहरुको तस्विर रहेको ब्यानरमा जुत्ता गरेका थिए। जसपश्चात प्रहरीले हस्तक्षेप गरेको थियो।
गत आर्थिक वर्षमा विभिन्न मन्त्रालय र प्रदेश सांसदमार्फत वितरण गरिएका ८ सय ४२ योजनामध्ये करिब ८७ करोड रुपैयाँ भुक्तानी बाँकी रहेको उपभोक्ता समितिहरुले बताएका छन्। प्रदेश सरकारले बक्र्यौता रकम भुक्तानी नदिएपछि उपभोक्ता समितिहरु केहि दिन देखि आन्दोलनरत छन्।
प्रदर्शनको क्रममा जुत्ता प्रहार भएको ब्यानरमा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय र सामाजिक विकास मन्त्री नवलकिशोर साह लगायतको तस्विर थियो।