सलाह भर्सेस माने : क्लोपको नजरमा को उत्कृष्ट ?

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले मोहम्मद सलाह र साडियो माने बीच तुलना हुन नसक्ने बताएका छन्। प्रिमियर लिगमा साउथह्याम्पटनको सामना गर्नु अगाडी आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेक्रममा क्लोपले सलाह र माने बीच तुलना गर्न नहुने बताएका हुन्।

पत्रकारहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै क्लोपले सलाह र माने एकै उमेरसमूहका भएपनि टोलीमा दुवैको धेरै महत्व रहेको बताए। क्लोपका अनुसार सलाह र माने बीच तुलना गरिनु न्यायोचित हुँदैन। गएका वर्षहरुमा दुवैले लिभरपुलका लागि धेरै काम गरेको क्लोपको भनाई छ।

“मलाई लाग्छ माने विश्वस्तरीय खेलाडी हुन्। व्यक्तिगत रुपमा मानेको प्रदर्शन बारे टिका-टिप्पणी गर्न सक्छौं। तर सलाहसँग उनको सामना किन गर्नुपर्यो ?”,क्लोपले भने,”प्रिमियर लिगमा सलाहले १ सय ८ गोल गरेका छन् र सबै प्रतियोगितामा मानेले १ सय ६ गोल गरेका छन्। यसको अर्थ यो होइन कि दुई बीच तुलना गरिनुपर्छ। “

क्लोपले आफूहरुले सलाह र मानेलाई भिन्न रुपमा लिने नगरेको पनि बताए। पछिल्ला वर्षहरुमा दुवै खेलाडीले लिभरपुलका लागि धेरै राम्रो गरिरहेको क्लोपको भनाई छ। जारी सिजनमा दुवै खेलाडी उच्च लयमा देखिएका छन्।

जारी सिजनमा मानेले लिभरपुलका लागि कुल १७ खेल खेल्दा ९ गोल गरिसकेका छन् भने १ असिस्ट दिएका छन्। त्यस्तै सलाहले लिभरपुलका लागि १७ खेल खेल्दा १७ गोल गरेका छन् भने ७ असिस्ट दिएका छन्।

प्रकाशित : शनिबार, मङि्सर ११, २०७८१४:०५

फुटबल लेजेण्ड भन्छन् – ‘रोनाल्डोको आलोचना गर्नुको अर्थ छैन’