एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले अरुलाई सल्लाह दिन मन नपर्ने बताएका छन्। केहि दिन अगाडी मात्रै बालोन डी’ओर जितेका मेस्सीले अरुलाई सल्लाह-सझाव दिन मन नपर्ने बताएका हुन्। फ्रान्स फुटबलसँग कुराकानी गर्नेक्रममा मेस्सीले प्रेरणाको स्रोत बन्न खासै मन नपर्ने र अरुलाई सल्लाह-सुझाव दिन पनि मन नलाग्ने बताए।
“मलाई थाहा छैन म रोल मोडल हुँ कि होइन।”,फ्रान्स फुटबलसँग कुराकानी गर्नेक्रममा मेस्सीले भने,”मलाई रोल मोडल हुन मन पर्दैन। साथै सल्लाह दिन पनि म मन पराउँदिन।”
त्यस्तै मेस्सीले आफ्नो सपना विश्वको उत्कृष्ट खेलाडी हुने नरहेको पनि सुनाए। फुटबल शुरु गर्दा आफूले विश्वको उत्कृष्ट खेलाडी हुने सपना नदेखेको मेस्सीको भनाई छ। मेस्सीको भनाई छ कि उनले व्यवसायिक फुटबलर बन्ने मात्रै सपना देखेका थिए।
उनले भने,”मैले मेरो सपनाको लागि लडें। पहिला मेरो सपना व्यवसायिक फुटबलर बन्ने थियो। त्यसपछि मैले आफैंलाई उछिन्न र नयाँ लक्ष्य प्राप्त गर्ने प्रयास मात्रै गरें।”
मेस्सीले आफू सन्तुष्ट रहेको पनि बताए। मेस्सीका अनुसार उनी पछिल्लो समय जे भइरहेको छ, त्यसका लागि खुशी छन्। तर कहिले कहिँ आफूलाई कसैलाई नचिनोस् भन्ने लाग्ने गरेको पनि मेस्सी बताउँछन्।
“जे भइरहेको छ त्यसमा म खुशी छु। तर, मैले स्वीकार गर्नै पर्छ कि कहिलेकाहीँ मलाई कसैले नचिनोस् र आनन्दले परिवारसँग समय व्यतित गर्न पाउँ भन्ने लाग्छ।”,मेस्सीले भने।

