एजेन्सी – बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफले अन्ततः विवाह गर्ने भएका छन्। गएको केहि वर्ष देखि प्रेम सम्बन्धमा रहेका विक्की र कट्रिनाले भारतस्थित राजस्थानमा विवाह गर्ने भएका हुन्।
प्रेम सम्बन्धलाई सार्वजनिक रुपमा स्विकार नगरेपनि दुईको विवाह अन्तिम चरणमा पुगेको छ। विवाहको तयारीका लागि दुवैको परिवार भारतस्थित राजस्थान पुगिसकेका छ। विवाह समारोह मंगलबार देखि बिहिबार सम्म चल्ने बताइएको छ। भारतीय संचार माध्यमहरुका अनुसार राजस्थानको सवाई माधोपुरस्थित सिक्स सेन्स फोर्ट बर्वारामा दुवैका परिवार पुगिसकेका छन्।
विवाहको तयारी पछिल्लो केहि महिना देखि गरिरहेको भएपनि विक्की र कट्रिनाले सक्दो गोपनियता अपनाइरहेका छन्। विवाहमा पाहुनाले मोबाइल चलाउन पाउने छैनन् भने बाहिरी मान्छेसँग सम्पर्क गर्न पनि पाउने छैनन्। सीमित पाहुनालाई निम्तो दिइएको उक्त समारोहका तस्विरहरु बाहिर नआओस् भन्नको लागि त्यसो गरिएको बताइन्छ।
यसै बीच विवाहको भिडियो खिच्न दिएबापत विक्की र कट्रिनालाई एक ओटीटी प्लेटफर्मले ठूलो रकम दिने प्रस्ताव राखेको खुलासा भएको छ। एक ओटीटी प्लेटफर्म विवाहको तस्विर तथा भिडियो खिच्न दिए सय करोड भारु दिने प्रस्ताव गरेको कोइमोइले जनाएको छ।
हलिउडतिर चर्चित सेलिब्रेटीले आफ्नो विवाहको तस्विर तथा भिडियो भारी रकममा लिएर अनलाइन प्लेटफर्म वा म्यागेजिन बेच्ने गर्छन्। सो ट्रेन्डले बलिउडमा पनि प्रवेश पाएको छ। यस अगाडी अभिनेत्री दीपिका पादुकोण र अभिनेता रनवीर सिंहले पनि यस्तै अफर पाएका थिए।