एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को समीकरण पूरा हुने क्रममा छ। च्याम्पियन्स लिगका समूह चरणका सम्पूर्ण खेल सकिएसँगै नकआउट चरणमा प्रवेश गर्ने टोलीहरुको समीकरण पूरा हुने छ।
समूह चरणका सबै खेल सकिन लाग्दा केहि नयाँ खेलाडीले नाम बनाए पनि केहि पूराना खेलाडीहरुले आफूलाई अब्बल सावित गरे। यसबीचमा केहि खेलाडीहरुले लगातार गोल गर्दा यही खेलाडीले खाता पनि खोल्न सकेनन्। आज हामी खाता खोल्न नसकेका भन्दा पनि सबै भन्दा बढी गोल गरेका खेलाडीहरुको चर्चा गर्दै छौँ। च्याम्पियन्स लिगको जारी सिजनमा सर्वाधिक गोल गर्ने पाँच खेलाडी निम्न छन्।
क्रिस्टियानो रोनाल्डो
यसै सिजन युभेन्टसबाट म्यानचेस्टर युनाइटेड पुगेका रोनाल्डो युनाइटेडमा शिर्ष गोलकर्ता हुन्। जारी सिजनमा रोनाल्डोले जति गोल कुनै पनि युनाइटेड खेलाडीले गर्न सकेका छैनन्। रोनाल्डो प्रिमियर लिगमा भन्दा बढी च्याम्पियन्स लिगमा सफल भए। च्याम्पियन्स लिगका ५ खेल्दा उनले ६ गोल गरिसकेका छन्।
क्रिस्टोफर कुन्कु
जर्मन क्लब आरबी लाइप्जिङ च्याम्पियन्स लिगबाट बाहिरिएपनि विंगर कुन्कुले धेरै प्रभावशाली प्रदर्शन गरे। च्याम्पियन्स लिगका ६ खेल खेल्दा उनले ७ गोल गरे।
मोहम्मद सलाह
सलाह जारी सिजनमा धेरै नै उच्च लयमा देखिएका छन्। गएको सिजन केहि कम्जोर प्रदर्शन गरेपनि नयाँ सिजन शुरु हुँदा सलाह धेरै नै घातक देखिएका छन्। च्याम्पियन्स लिगका ६ खेल खेल्दा सलाहले पनि ७ गोल गरिसके।
रोबर्ट लेवान्डोस्की
जर्मन च्याम्पियन बायर्न म्युनिखका गोल मेसिन जति उत्कृष्ट लयमा छन्, त्यति सायदै अन्य खेलाडी होलान्। लेवान्डोस्कीले च्याम्पियन्स लिगका ६ खेल खेल्दा ९ गोल गरिसकेका छन्।
सेबास्टियन हलर
च्याम्पियन्स लिगमा आयक्सले धेरै नै राम्रो प्रदर्शन गर्यो। आयक्सले जारी सिजनमा कुनै पनि खेल हारेको छैन, न त कुनै खेल बराबरी नै खेलेको छ। च्याम्पियन्स लिगमा आयक्सले बलियो प्रदर्शन गर्न सक्नुमा सबै भन्दा धेरै भूमिका सेबास्टियन हलरको रह्यो। उनले ६ खेलमा १० गोल गरिसकेका छन्।

