एजेन्सी – क्याटलान क्लब बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा नमज्जाले पराजित भयो। जर्मन च्याम्पियन बायर्न म्युनिखका अगाडी बार्सिलोना यति निरिह भयो कि तीन गोल बेहोर्दा एक गोल पनि फर्काउ सकेन।
बल नियन्त्रणमा बायर्नलाई टक्कर दिएपनि बार्सिलोना फिनिसिङमा भने चुक्यो। बायर्नको डिफेन्सले बार्सिलोनालाई खासै मौका नै दिएन। बायर्नको जितमा थोमस मुलर, लिरोए साने र जमल मुसिएलाले गोल गरेका थिए। समूहचरणको पहिलो चरणमा भएको खेलमा पनि बार्सिलोना बायर्नसँग ३-० ले नै पराजित भएको थियो।
लेवान्डोस्कीको त्यो मुस्कान
बायर्नसँग पराजित भएसँगै बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो। खेल सकिएपछि बार्सिलोनाका खेलाडीहरुमा निराशा देखिँदा बायर्नका खेलाडीहरुको मुहारमा भने सन्तुष्टि देखियो। त्यस्तै सामाजिक संजालमा यति बेला बायर्नका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको एक तस्विर भाइरल भैरहेको छ।
सो तस्विरमा लेवान्डोस्कीसँगै बार्सिलोनाका डिफेन्डर क्लेमेन्ट लेन्ग्लेट पनि देखिएका छन्। तस्विरको रोचक कुरा यो छ कि लेवान्डोस्कीको मुसुक्क मुस्कुराइरहेपनि लेन्ग्लेट अझ बढी खुलेर हाँसेका छन्।
सामाजिक संजालमा यति बेला उक्त तस्विरलाई इडेन हाजार्डसँग तुलना गरेर लेन्ग्लेटको खुल्ली उडाइएको छ। गत सिजनमा रियल चेल्सीसंग पराजित हुँदा हाजार्ड पनि चेल्सीका खेलाडीहरुसँग हाँसेर गरेका कारण ट्रोलको विषय बनेका थिए।

