एजेन्सी – च्याम्पियन्स लिगबाट बाहिरिएसँगै क्याटलान क्लब बार्सिलोना नयाँ तरिकाबाट अगाडी बढ्ने तयारीमा जुटेको छ। निरन्तरको कम्जोर प्रदर्शन पश्चात बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएसँगै बार्सिलोना नयाँ तरिकाबाट अगाडी बढ्ने तयारीमा जुटेको हो।
घरेलु लिग लालिगामा पनि बार्सिलोना संकटग्रस्त अवस्थामा छ। सिजनका १५ खेल खेलिसक्दा ६ जित र ४ हार सहित २३ अंक बनाएको छ। बार्सिलोना अहिले लालिगाको सातौं स्थानमा छ। यस्तै कम्जोर प्रदर्शन गरेको खण्डमा बार्सिलोना आउने सिजनका लागि च्याम्पियन्स लिगका लागि छनौट हुनेछैन।
च्याम्पियन्स लिगका लागि छनौट हुनकै लागि बार्सिलोनाले क्लबमा विभिन्न परिवर्तन गर्ने तयारी गरिरहेको छ। तर आर्थिक संकट बार्सिलोनाका लागि सबै भन्दा ठूलो टाउको दुखाई बनिरहेको छ। बार्सिलोना नयाँ खेलाडीमा लगानी गर्ने अवस्थामा छैन। जस कारण बार्सिलोना केहि खेलाडीहरुलाई बिक्री गर्न चाहन्छ।
स्पेनिस मिडिया मार्काले गरेको दावी अनुसार बार्सिलोनाले जनवरी ट्रान्सफर विन्डोमा आधा दर्जन खेलाडी बिक्रीमा राख्न सक्छ। महँगो पारिश्रमिक पाइरहेका र खासै पहिलो रोजाईमा पर्न नसकेका खेलाडीहरुलाई बिक्री गर्ने बार्सिलोनाको योजना छ।
बार्सिलोनाका लागि सबै भन्दा बढी फिलिपे काउटिन्होका कारण समस्या भैरहेको छ। धेरै नै महँगो मूल्यमा किनेर ल्याइएका उनको पारिश्रमिक पनि उच्च छ। उनी लगातार चोटिल हुँदै मैदान बाहिर रहँदै आएका छन्। उनलाई बिक्री गर्न सके बार्सिलोनाको ठूलो आर्थिक संकट टर्नेछ। काउटिन्होका अलावा बार्सिलोनाले सामुएल उम्टिटी, लुक डे जोङ, सर्जिनो डेस्ट र ओस्कर मिङ्गुएजालाई पनि बेच्ने सोच बनाएको छ।