सिजनको पहिलो ‘म्याड्रिड डर्वी’ , कसले मार्ला त बाजी ?

एजेन्सी – स्पेनिस ला लिगाको यो सिजनको पहिलो ‘म्याड्रिड डर्वी’ मा आज (आइतबार) राति रियल म्याड्रिड र एट्लेटिको म्याड्रिडबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नबेउमा नेपाली समयअनुसार राति १:४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा रियल एट्लेटिकोलाई पराजित गर्दै आफ्नो शीर्षता पकड बनाउने लक्ष्यमा रहँदा पाहुना टोली एट्लेटिको रियललाई स्तब्ध पार्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ ।

एट्लेटिकोलाई हराउन सके रियलले शीर्षस्थानमा ८ अंकको अग्रता बनाउनेछ । बराबरीले ६ अंकको तथा हारले ५ अंकको अग्रता कायम गर्नेछ । रियलको १६ खेलबाट ३९ अंक छ । चोटबाट गुज्रिएको करिम बेन्जेमा, ग्यारेथ बेल र इडेन हाजार्डको आगमनले टोलीको मनोवल उच्च बनेको छ ।

करिअरकै उच्च लयमा रहेका भिनिसियस जुनियरसँगै रोड्रिगो, मार्काे एसेन्सियो, टोनी क्रुस, क्यासमिरो, लुका मोड्रिच, डेभिड अलाबा, इडर मिलिसाओ, ड्यानी कार्भाजल, फर्लान्ड मेन्डी र गोलरक्षक थिवाउट कोर्टुवा पनि टोलीमा रहेका छन् । लुकास भास्क्वेज, इस्को, इडुआर्डाे कामाभिंगा, मार्सेलो, मारियानो डियाज र नाचो फर्नान्डेस पनि टोलीमा रहेका छन् ।

यता, एट्लेटिको म्याड्रिड पनि रियललाई हराएर तेस्रो स्थानमा उक्लदै शीर्ष टोलीसँगको अंक दुरी छोट्याउने योजनामा हुनेछ । एट्लेटिको २९ अंक जोडेर चौथो स्थानमा रहेको छ । टोलीसँग एन्टोइन ग्रिजमन, रोड्रिगो डि पउल, कोकी, यान्निक कारास्को, मार्काेस लोरेन्टे, थोमस लेमार, मारियो हर्माेसो, फिलिपे र गोलरक्षक जान ओब्लाक रहेका छन् । यस्तै जोओओ फेलिक्स, म्याथिअस कुन्हा, जियोफ्रे कोन्डोकविया र रेनान लोडी पनि टोलीमा रहेका छन् । चोटका कारण सुआरेजले खेल्ने सम्भावना न्युन रहेको छ ।

यि दुई टोलीबीचको पछिल्लो ४० भेटमा रियल १७ खेलमा विजयी भएको छ । एट्लेटिकोले १० खेल आफ्नो पक्षमा पार्दा १३ खेल बराबरीमा सकिएको छ ।

सन् २०१९ को च्याम्पियन्स कपमा ७–३ ले पराजित भएयता, पछिल्लो पाँच खेलमा रियलले एट्लेटिकोसँग हार बेहोरेको छैन । जसमा तीन बराबरी र दुई जितको नतिजा छ । रियल सोही लयलाई कायम राख्ने लक्ष्यमा रहँदा एट्लेटिको रियलसँगको जितविहीन यात्रा टुंग्याउने योजनामा हुनेछ ।

प्रकाशित : आइतबार, मङि्सर २६, २०७८१५:१०

“मेस्सीले कोपा अमेरिकामा गरेको जस्तो प्रदर्शन फुटबल इतिहास मै कसैले गर्न सक्दैन” [भिडियो सहित]