एजेन्सी – लियोनल मेस्सी र किलियन एम्बाप्पे बीच राम्रो तालमेल मिल्ने संकेत देखा परिरहेको छ। मेस्सी र एम्बाप्पे दुवै अहिले प्रशिक्षणमा कडा मिहिनेत गरिरहेका छन्। खेलका दौरान मात्र नभई प्रशिक्षणका क्रममा पनि दुई बीच राम्रो सम्बन्ध विकास भैरहेको बताइन्छ।
एक फ्रेन्च मिडियाका अनुसार पछिल्लो समय मेस्सी र एम्बाप्पे प्रशिक्षणमा अतिरिक्त समय व्यतित गरिरहेका छन्। मेस्सी र एम्बाप्पेले एक अर्कासँग राम्रो तालमेल मिलाउनको लागि अन्य खेलाडीहरुले भन्दा बढी समय प्रशिक्षण रहन थालेको ‘एल इक्विप’ले जनाएको छ।
मेस्सी यसै सिजन बार्सिलोनाबटा पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगेका हुन्। पिएसजीमा मेस्सी संघर्षरत छन्। फरक देश, फरक लिग भएका कारण मेस्सीलाई घुलमिल हुन समस्या परिरहेको छ। तर समय बित्दै जाँदा उनी पिएसजीमा स्थापित हुँदैछन्।
पिएसजी गएयता मेस्सीले १५ खेल खेलेका छन्। जसमा ६ गोल गर्दै ४ असिस्ट दिएका छन्। मेस्सीले लिग वानमा मात्र १ गोल गर्दै च्याम्पियन्स लिगमा ५ गोल गरेका छन्। मेस्सीले गरेका ६ मध्ये ४ गोलमा एम्बाप्पेको भूमिका छ। एम्बाप्पेले ४ गोलमा मेस्सीलाई असिस्ट दिएका थिए।
सिजनको शुरुवातमा मेस्सी, नेयमार र एम्बाप्पे मैदानमा उत्रँदा केहि समय देखिएको भएपनि नेयमार घाइते भएर मैदान बाहिर रहँदा मेस्सी र एम्बाप्पे बीच राम्रो तालमेल हुने छनक देखिएको छ।
केहि समय अगाडी मेस्सीले एम्बाप्पे जस्तो खेलाडीसँग घुलमिल हुन सहज रहेको बताएका थिए। एम्बाप्पे राम्रोसँग स्पेनिस बोल्न सक्ने भएका कारण पनि आफूहरु बीच राम्रो सम्बन्ध स्थापित हुने मेस्सीको विश्वास थियो। मेस्सीले बताए अनुसार नै दुई बीच राम्रो तालमेल स्थापित हुन सक्ने आधारहरु देखा परिरहेका छन्।

