एजेन्सी – प्रिमियर लिग क्लब चेल्सी पुनः एक पटक बराबरीमा रोकिएको छ। सिजनको शुरुवातमा धेरै नै राम्रो प्रदर्शन गरेर केहि समय देखि कम्जोर हुन पुगेको चेल्सीले आइतबार प्रिमियर लिगमा पुनः बराबरी खेलेको हो। पाँच खेलमा चेल्सीको यो दोस्रो बराबरी हो।
आइतबार राति भएको खेलमा चेल्सी वुल्भ्ससँग बराबरीमा रोकियो। वुल्भ्सको घरेलु मैदानमा भएको खेलमा बलमा पकड बनाएपनि चेल्सीले गोल गर्न सकेन। बलमा चेल्सीको ६४ प्रतिशत पकड थियो।
खेलभर चेल्सीको तर्फबाट कुल ८ प्रहार भएका जसमा मात्र १ प्रहार टार्गेटमा थियो। त्यस्तै वुल्भ्सको तर्फबाट भने कुल ४ प्रहार भएका थिए। त्यसमा मात्र १ प्रहार टार्गेटमा थियो।
बराबरी खेलेपछि दुवै टोलीले एक-एक अंक बाडेका छन्। यससँगै प्रिमियर लिगमा चेल्सीको ३८ अंक भएको छ। सिजनका १८ खेल खेल्दा चेल्सीले ११ खेलमा जित निकालेको छ भने २ खेलमा हार बेहोरेको छ। त्यस्तै १८ खेलमा वुल्भ्सले ७ खेलमा जित र ७ खेलमा बराबरी खेलेको छ।
वुल्भ्स प्रिमियर लिगको आठौँ स्थानमा छ।
सिटीको जित
चेल्सी बराबरीमा रोकिँदा लिगको शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले भने १४ औं जित निकालेको छ। आइतबार राति नै भएको खेलमा सिटीले न्यूक्यासल विरुद्ध जित निकालेको हो।
न्यूक्यासललाई ४-० को गोल अन्तरले पराजित गर्नेक्रममा सिटीका रुबेन डियास, जोआ क्यान्सेलो, रियाद महारेज र रहिम स्टर्लिंगले गोल गरे। यस जितसँगै सिटीले शिर्षस्थानमा बलियो पकड बनाएको छ। सिटीको ४४ अंक छ। कुनै एक समयमा लिगको शिर्ष स्थानमा रहेको चेल्सी र सिटी बीच अब ६ अंकको अन्तर छ।

