एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का खेलकुद निर्देशक लियोनार्डोले युवा स्टार किलियन एम्बाप्पे हालको अवस्थामा विश्वकै उत्कृष्ट खेलाडी रहेको दावी गरेका छन्। एक अन्तर्वार्ताका क्रममा लियोनार्डोले एम्बाप्पे अहिले विश्वकै उत्कृष्ट खेलाडी रहेको बताएका हुन्।
युरोप वानसँग कुराकानी गर्नेक्रममा लियोनार्डोले क्लबमा अड्याउनको लागि मात्र आफूहरुले उनलाई विश्वको उत्कृष्ट खेलाडी नभनेको बताए। एम्बाप्पेलाई खुशी पार्नको लागि मात्र आफूले त्यसो नभनेको उनको भनाई छ।
“उनलाई क्लबमा अड्याउनको लागि हामीले एम्बाप्पे विश्वकै उत्कृष्ट खेलाडी भनिरहेको मानिसहरुलाई लाग्छ। तर त्यस्तो होइन, वास्तवमै उनी विश्वको उत्कृष्ट खेलाडी हुन्।”,लियोनार्डोले भने।
लियोनार्डोका अनुसार एम्बाप्पे कम उमेरमै परिपक्क भएका छन्। २३ वर्षको उमेरमै एम्बाप्पेमा अविश्वसनीय परिपक्वता देखिएको लियोनार्डोले बताए। उनले भने,”२३ वर्षको उमेरमा पनि एम्बाप्पेले अविश्वसनीय परिपक्वता पाएका छन्।”
त्यस्तै लियोनार्डोले क्लब र एम्बाप्पे बीच सम्झौता थप गर्नको लागि सहमति हुन सक्ने विश्वास पनि व्यक्त गरेका छन्। लियोनार्डोका अनुसार अवस्था जटिल भएपनि सबै सम्भावनाको अन्त्य भएको छैन। लियोनार्डोले एम्बाप्पे सधै पिएसजीमै रहुन् भन्ने आफूहरुको चाहना रहेको पनि सुनाए।
“हामी एम्बाप्पे सधैंभरी यहिँ रहुन् भन्ने चाहन्छौं। र हामीले उनको चाहनाको कदर पनि गर्नुपर्छ। भन्नुपर्दा अहिलेको अवस्था धेरै नै जटिल छ। तर मलाई लाग्छ कि उनले सम्झौता थप गर्ने सम्भावना अझै बाँकी छ। मलाई विश्वास छ कि यो सम्भव छ।”,लियोनार्डोले भने।