एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिड बराबरीमा रोकिएको छ । कोभिडका कारण पहिलो टोलीका ६ खेलाडीविना मैदान उत्रिएको रियलले घरेलु मैदानमा क्याडिजसँग गोलरहित बराबरी खेलेको हो ।
कोरोना संक्रमणका कारण लुका मोड्रिच, ड्यानी कार्भाजल, रोड्रिगो, मार्काे एसेन्सियो, मार्सेलो र ग्यारेथ बेल क्याडिजविरुद्धको खेलमा अनुपस्थित रहेका थिए । यि खेलाडीको अनुपस्थितिमा पनि रियलले क्याडिजलाई दवावमा राखेपनि क्याडिजको बलियो रक्षापङ्ति तोड्न नसक्दा रियल बराबरीमा रोकिन बाध्य बन्यो ।
सान्टियागो बर्नबेउमा भएको खेलको सातौं मिनेटमा करिम बेन्जेमा पासमा भिनिसियस जुनियरको प्रहारलाई डिफेन्डर कालाले ब्लक गरे । १०औं मिनेटमा फालीको भली प्रहार आकासिदा क्याडिज अग्रता लिनबाट चुक्यो ।
१७औं मिनेटमा बेन्जेमाको कट ब्यामा फेडे भाल्भेर्डेको प्रहार बाहिरियो । लगत्तै १८औं मिनेटमा फर्लान्ड मेन्डीको प्रहार क्रसबारबाट थोरै बाहिरिदा रियल अग्रता लिनबाट चुक्यो । ५०औं मिनेटमा बेन्जेमा, भिनिसियस र इडेन हाजार्डबीचको समन्वयमा बनेको मुभमा हाजार्डको प्रहारलाई एकापोले क्लिय गर्दै क्याडिजको संकट टारे ।
५७औं मिनेटमा लुकास भास्क्वेजले तथा ५७औं मिनेटमा क्यासमिरोले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । त्यसपछि पनि रियलले झन्डै एक दर्जन अवसर सिर्जना गरेपनि डिफेन्डर र गोलरक्षक बाधक बन्दा रियल जितबाट वञ्चित बन्यो ।
सिजनको चौथो बराबरी खेलेको शीर्षस्थानमा रहेको रियलको १८ खेलबाट ४३ अंक पुगेको छ । रियलले एक खेल कम खेलेको सेभियालाई ६ अंकले पछि पारेको छ । रियललाई बराबरीमा रोकेको क्याडिज १४ अंक जोडेर १९औं स्थानमा रहेको छ ।