एजेन्सी – फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको दुई तथा मोउरो इकार्डीको एक गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले कप डि फ्रान्समा सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा पिएसजीले घरेलु टोली फेइगनिस अलनोइलाई ३–० ले पराजित गर्दै अन्तिम ३२ मा स्थान पक्का गरेको हो ।खेलको सुरुवातदेखि नै घरेलु टोलीलाई दवावमा राखेको पिएसजीले १६औं मिनेटमा एमबाप्पेको पेनाल्टी गोलबाट अग्रता लिएको थियो ।
एमबाप्पेलाई पेनाल्टी बक्समा डिधिहोउले फउल गरेपछि प्राप्त पेनाल्टीमा एमबाप्पे आँफैले गोल गरेका थिए । त्यसअघि १२औं मिनेटमा मोउरो इकार्डीले गोल गरेपछि अफसाइड ठहरिदा उनको गोलले मान्यता पाएन ।
३०औं मिनेटमा मोउरो इकार्डीले पेनाल्टीमा गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । पेनाल्टी बक्समा एमबाप्पेलाई पुनः फउल गरेपछि रेफ्रीले पिएसजीलाई पेनाल्टी प्रदान गरेको थियो । यसपटक इकार्डीले गोल गरे ।
५१औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै पिएसजीको जित पक्का गरे । ७६ प्रतिशत बल पोसेसन राखेको पिएसजीले दर्जन बढी अवसर सिर्जना गरेपनि थप गोल बढाउन सकेन ।