प्रचण्ड र माधव नेपाललाई च्याप्दै देउवा, जसरी पनि एमसिसी पास गराउने दाउ !

काठमाडौं । अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) प्रतिनिधि सभामा पेश हुन अझै समय लाग्ने भएको छ । मंगलबारको बैठकमा २ अध्यादेश पेश भएका छन् । बुधबार पनि थप केही अध्यादेश पेश गर्ने तयारी छ । तर, एमसीसी तत्कालै पेश हुने सम्भावना नभएको स्रोतहरुको भनाइ छ । किनभने सम्भावित कार्यसूचीमा पनि एमसीसी परेको छैन । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

बुधबारको बैठक लगत्तै प्रतिनिधि सभाको बैठक स्थगित गराउने तयारी छ । त्यसपछि बैठक एक हप्तापछि मात्रै बस्न सक्छ । माओवादी केन्द्रको पुस ११ देखि हुने राष्ट्रिय सम्मेलनमा व्यस्त हुने भएपछि पुस १५ सम्म संसद बैठक बस्ने सम्भावना कम छ । ‘बुधबारको संसद बैठकपछि एक हप्ता संसद बैठक बस्दैन होला,’ कांग्रेसका एक सांसदले भने, ‘माओवादीको राष्ट्रिय सम्मेलन भएकोले त्यसबीचमा बैठक नराख्ने समझदारी जस्तै छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमै एमसीसी प्रवेश गराउने योजनामा थिए । तर, सत्ता गठबन्धनमा रहेका अन्य चार दलले तत्काल अघि बढाउन मानेनन् । देउवाको जोड छिट्टै एमसीसी संसदमा टेबल गर्ने थियो । उनले त्यसका लागि आफूनिकट नेताहरुमार्फत दबाब बढाउँदै लगेका छन् ।

एमसीसीकै विषयमा साझा धारणा बनाउन प्रधानमन्त्री देउवाले आइतबार सर्वदलीय बैठक बोलाएका थिए । त्यसअघि सत्ता गठबन्धनको बैठक पनि बसेको थियो । सत्ता गठबन्धनको बैठकमा एमसीसीका प्रावधान अध्ययन गर्न पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ रहेको तीन सदस्यीय कार्यदल बनेको छ ।

कार्यदलले एमसीसीमा रहेका आपत्तिजनक प्रावधानबारे अध्ययन गरेर गठबन्धनको अर्को बैठकमा जानकारी दिनेछ । कार्यदलले एमाले लगायतका दलसँग समेत छलफल गर्नेछ । त्यसकारण पनि बुधबार १ बजे बस्ने बैठकमा एमसीसी टेबल गर्ने सम्भावना छैन । बुधबारको संसद बैठकमा प्रस्तुत गरिने एजेण्डा तय गर्न सुरुमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ ।

कार्यव्यवस्था परामर्श समितिले बुधबारको लागि प्रतिनिधि सभाको बैठकमा केही अध्यादेशलाई पेश गर्ने कार्यसूची बनाउन सक्ने सम्भावना छ । ‘बुधबार बस्ने प्रतिनिधि सभाको बैठकमा पनि चारवटा अध्यादेश टेबल गर्ने कार्यक्रम एजेण्डा बन्न सक्छ,’ एक सांसदले भने, ‘मंगलबारै सार्वजनिक कार्यसूची अनुसार पनि एमसीसी एजेण्डा बन्ने सम्भावना देखिँदैन ।’

त्यसो त सरकार एमसीसीलाई संसदमा टेबल गर्ने योजनामै छ । ‘सरकारले दबाब बढाउँदै लगेको छ, पेलेरै जान खोजेको संकेत देखिन्छ, तर, बुधबार एमसीसी संसदमा प्रवेश गर्ने सम्भावना कम देखिन्छ,’ ती सांसदले भने । मंगलबार बसेको संसद बैठकमा प्रमुख प्रतिपक्षी एमालेले अवरोध जारी राखेको छ।

प्रकाशित : बुधबार, पुष ०७, २०७८०८:५४

काम उस्तै, सेवासुविधामा भने भेदभाव !