काठमाडौँ – सामाजिक संजाल मार्फत ठगी गर्दै आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। विभिन्न व्यक्तिको नाममा नक्कली फेसबुक पेज बनाएर ठगी गर्दा आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका–१० घर भएका २३ वर्षिय रमेश थारु रहेका छन्। थारुलाई कोहलपुर, बाँकेबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ। महानगरीय अपराध महाशाखाको टोलीले ईलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेसँग समन्वय गरी कोहलपुरबाट पक्राउ गरेको हो।
महाशाखाले दिएको जानकारी अनुसार थारुले विभिन्न व्यक्तिहरुको नागरीकताको कपी फेला पारेर त्यसको दुरुपयोग गरी नक्कली फेसबुक पेज बनाउने गरेका थिए। ती पेजहरुमा उनले ‘डीएसएलआर’ क्यामेराको खरिद तथा बिक्री गर्न आकर्षक विज्ञापन राख्ने गरेका थिए।
क्यामेरा खरिद गर्न चाहाने ग्राहकको लागि उनले सम्पर्क नम्बर ९७४५५४१४५६ समेत ‘क्यानोन ८०’ मोडेलको क्यामराको मूल्य ७८ हजार पर्छ र ५० प्रातिशत रकम पहिला पठाउनु भनी प्रचार गर्ने गरेका थिए भने उनले ग्राहकहरुले सामान डेलिभरी गर्नुपूर्व आधा रकम आईएमई पे एप, इसेवा मार्फत पठाउन लगाउने गरेका थिए। तर पैसा लिएपछि डेलिभरी नदिई सम्पर्कविहीन हुने गरेका थिए।
सो सम्बद्धमा विभिन्न व्यक्तिहरुले उजुरी गरेपछि अनुसन्धान गरेर थारुलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ। थारुलाई महानगरीय प्रहरी परिसर, टेकु, काठमाण्डौ पठाइएको छ भने उनी माथि थप अनुसन्धान भैरहेको छ।