एजेन्सी – फरवार्ड मोहम्मद सलाह पेनाल्टीमा चुक्दा लिभरपुलले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीसँग हार बेहोरेको छ । लिभरपुल घरेलु टोली लेस्टरसँग १–० ले स्तब्ध बनेको हो ।
लिभरपुललाई स्तब्ध पार्न घरेलु टोलीका सब्सिच्युट फरवार्ड एडेमोला लोकमनले गरेको गोल निर्णायक बन्यो । उनले ५९औं मिनेटमा गोल गरेका थिए ।
किङ पावर स्टेडियममा मंगलबार राति भएको खेलको १६औं मिनेटमा मोहम्मद सलाह पेनाल्टीमा चुक्दा लिभरपुल अग्रता लिनबाट चुक्यो । सलाहलाई नै वेलफ्रेड एनडिडिले फउल गरेपछि प्राप्त पेनाल्टीमा उनको प्रहारलाई गोलरक्षक कास्पर स्माइकले बचाए । रिवाउन्डको उनको हेडर बारमा लागेर फर्कियो । अर्काे प्रयास बाहिर गयो ।
५९औं मिनेटमा सब्सिच्यसट फरवार्ड एडेमोला लुकमनले गोल गर्दै लेस्टरलाई १–० को अग्रता दिलाए । काउन्टर अट्याकमा काइरनान डिउसवुरी हलले दिएको पासमा उनले भर्जिल भान डाइकलाई बिट गर्दै पहिलो बारमा गोल गर्न सफल भए । ५६औं मिनेटमा हम्जा चौधरीको स्थानमा मैदान छिरेका उनले मैदान प्रवेश गरेको चौथो मिनेटमा नै गोल गर्न सफल भएका थिए ।
त्यसपछि साडियो माने र डिएगो जोटाको प्रयासमा गोलरक्षक स्माइकल नै बाधक बन्दा लिभरपुलले जारी सिजनको प्रिमियर लिगमा दोस्रो हार बेहोर्न पुग्यो ।
हारसँगै लिभरपुल शीर्षस्थानको म्यानचेस्टर सिटीसँग ६ अंकले पछि परेको छ । लिभरपुलको ४१ त्था सिटीको ४७ अंक छ । लिभरपुलललाई हराएको लेस्टर २५ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ ।

