म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक ओले गुन्नार सोल्स्कजायरको रेकर्ड वर्खास्त भएको केहि हप्ता पछि क्रिस्टियानो रोनाल्डोले तोडेका छन्। रोनाल्डोले सोल्स्कजायरको म्यानचेस्टर युनाइटेडको जर्सीमा गरेको कुल गोल सङ्ख्याको रेकर्ड तोडेका हुन्। पोर्चुगिज स्टार यसै सिजन मात्र ट्रान्सफर विन्डोको अन्तिम दिन म्यानचेस्टर फर्किएका थिए।

धेरैले उनको उपस्थितिले रणनीतिक योजनालाई बाधा पुर्याउँछ कि भनेर प्रश्न गरेका थिए तर रोनाल्डोको गोल सङ्ख्या आफैं बोल्छ। ३६ वर्षीय खेलाडीले च्याम्पियन्स लिगमा ६ खेल सहित २१ खेलमा १४ पटक गोल गर्दै उत्कृष्ट लयमा रहेका छन्। उनको पछिल्लो उत्कृष्ट प्रदर्शन ओल्ड ट्राफोर्डमा बिहीबार राती बर्नली विरुद्ध आयो। जसको तीन दिन अघि मात्र न्यूक्यासल विरुद्ध उनको प्रदर्शनको लागि उनको निकै आलोचना भएको थियो।

तर रियल म्याड्रिडका पूर्व स्टारले गोल गर्दै ३-१ को जितमा असिस्ट समेत दिँदै आफ्ना आलोचकलाई गलत साबित गरे। रोनाल्डोको उक्त गोल म्यानचेस्टरका लागि उनको ९२ औं प्रिमियर लिग गोल थियो, जसले उनलाई ओलेको ९१ गोल भन्दा एक गोल अगाडी लागेको छ। युभेन्टसका पूर्व स्टारभन्दा बढी गोल गर्ने मात्र ५ खेलाडी रहेका छन् – वेन रुनी, रायन गिग्स, पल स्कोल्स, एन्डी कोल र रुड भान निस्टेलरोय।
View this post on Instagram
यसैबीच, रोनाल्डोले इन्स्टाग्राममा जितको प्रतिक्रिया दिन धेरै समय लगाएनन्। उनले आफ्नो इन्स्टाग्राम अकाउन्ट मार्फत आफूले बर्नली विरुद्ध गोल गरेको फोटो साझा गर्दै क्याप्सनमा लेखे, “वर्ष अन्त्य गर्ने उत्तम तरिका! ठूलो जित ।”

