एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले एकै क्यालेन्डर (सन् २०२१) मा कीर्तिमानी जितसहित वर्षको अन्त्य गर्यो । सन् २०२२ सुरु हुुनुअघि ब्रेन्टफर्डलाई १–० ले पराजित गर्दै सिटीले सर्वाधिक जित, सर्वाधिक गोल र सर्वाधिक अवे जितको कीर्तिमान बनाएको हो ।

सिटीले एकै क्यालेन्डरमा ३६ जित, ११३ गोल र १९ अवे जित निकालेको छ । यो कुनै पनि इंग्लिस क्लबले एकै क्यालेन्डरमा निकालेको उत्कृष्ट नतिजा हो । बुधबार राति भएको खेलमा ब्रेन्टफर्डलाई १–० ले पराजित गर्दै सिटीले दोस्रो स्थानमा रहेको चेल्सीलाई ८ अंकले पछि पार्दै उपाधि यात्रालाई थप मजवुत बनाएको छ ।
ब्रेन्टफर्ड कम्युनिटी स्टेडियममा सिटीको जितमा फिल फोडेनले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले १६औं मिनेटमा केभिन डि ब्रुयनको पासमा गोल गरेका थिए । ८७औं मिनेटमा एमेरिक लापोर्टेले गोल गरेपनि उनको गोलले मान्यता पाएन ।

जितपछि सिटीको २० खेलबाट ५० अंक पुगेको छ । समान खेलबाटै चेल्सीको ४२ अंक छ । एक खेल कम खेलेको लिभरपुलको ४१ अंक छ । पराजित ब्रेन्टफर्ड २० अंक जोडेर १४औं स्थानमा छ ।

त्यस्तै, सबै प्रतियोगोताको कुरा गर्ने हो भने पनि सिटीले निकै उत्कृष्ट प्रदर्शन गर्यो। म्यानचेस्टर सिटीले २०२१ मा सबै प्रतियोगितामा ५३ खेल जितेको छ। सन् १८८८ मा फुटबल लिगको स्थापना भएयता कुनै पनि इङ्लिस लिग क्लबले एकै वर्षमा जीत निकालेको यो सबैभन्दा धेरै हो।