एजेन्सी – बेल्जियन फरवार्ड रोमेलु लुकाकु चेल्सीको टोलीमा फर्किएका छन् । उनले आफ्नो टोली चेल्सी र प्रशिक्षक थोमस टुचेलसँग माफी मागेपछि टोलीमा फर्किएका हुन् ।
सार्वजनिक रूपमै प्रशिक्षकका कारण चेल्सीमा खुसी रहन नसकेको र इन्टर मिलान फर्कन चाहेको अभिव्यक्ति दिएपछि उनलाई टोली बाहि रहँदै आएका थिए । सोही कारण उनले सोमबार प्रिमियर लिगअन्तर्गत लिभरपुलविरुद्धको खेल गुमाएका थिए ।
व्यक्तिगत रूपमा राम्रै प्रदर्शन गरेपनि प्रशिक्षक टुचेललाई औल्याउँदै २८ वर्षीय फरवार्ड लुकाकुले आफ्नो असन्तुष्टि पोखेका थिए । टुचेलका अनुसार उनी टोलीको अभ्यासमा सहभागी भइसकेका छन् । उनले कारबाओ कपअन्तर्गत टोटेनहमविरुद्धको खेल प्रशिक्षक टुचेलले बताएका छन् ।
‘शारीरिक रूपमा म ठिक छु तर चेल्सीको अवस्थाले म खुसी छैन ।’ उनले स्काई स्पोर्ट्स इटालीसँग भनेका थिए, ‘खेलका लागि टुचेलको रोजाई अर्कै प्रणालीमा छ । यसैमा म खुशी छैन र यो स्वभाविक पनि हो । मैले हार नमान्नु र व्यावसायिक खेललाई निरन्तरता दिनु नै मेरा विकल्प हो ।’
त्यतिमात्र होइन, उनले सार्वजनिक रूपमै पूर्वक्लब इन्टर मिलान फर्किने आफ्नो इच्छा जाहेर गरेका थिए । ‘इन्टरबाट मेरो बहिर्गमन अचानक भयो र यसका लागि म मेरा समर्थकप्रति माफी माग्छु ।’ उनले भने, ‘इन्टर मेरो हृदयमा छ र म आशा गर्छु पुनः त्यहाँबाट खेल्ने थिए । हृदयदेखि नै इन्टर फर्किने मेरो चाहना छ । करिअरको अन्त्यतिर होइन, जब म उत्कृष्ट स्तरमै रहेका बेला म त्यहाँ फर्किन्छु ।’
त्यसअघि उनले सन् २०१२ देखि २०१३ सम्म चेल्सीका लागि खेलेका थिए । २०१३ मा लोनमा एभर्टन गएका उनी २०१४ देखि २०१७ सम्म त्यहाँबाट खेले । २०१७ देखि दुई वर्ष म्यानचेस्टर युनाइटेडमा खेलेका उनी २०१९ मा भने इन्टर मिलान पुगेका थिए । इन्टरबाट सिरी ‘ए’को उपाधि जितेपछि उनी पुनः २०२१ चेल्सी फर्किएका हुन् ।

