एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिखले घरेलु मैदानमै हार बेहोरेको छ । बायर्नले बोरुसिया मोन्चेनग्लाडवाकसँग २–१ ले स्तब्ध बनेको हो ।
एलिएन्ज एरिनामा शुक्रबार राति भएको खेलमा घरेलु टोलीका लागि रोबर्ट लेवान्डोस्कीले गोल गर्दा बोरुसिया मोन्चेनग्लाडवाकका फ्लोरियन नेउहस र स्टेफन लेइनरले गोल गरे ।
बुन्डेसलिगामा बायर्नको यो सिजनमा तेस्रो हार हो । यसअघि बायर्नले फ्रान्कफुर्ट र अग्सवर्गसँग हार बेहोरेको थियो । मोन्चेनग्लाडवाकसँग बायर्नको लगातार दोस्रो हार हो । यसअघि बायर्नले डिएफवी पोकलमा ५–० को हार बेहोरेको थियो ।
बोरुसिया मोन्चेनग्लाडवाकले बायर्नसँगको अपराजित यात्रा चौथो खेलसम्म लम्ब्याउन सफल भयो । ८ मे २०२१ मा ६–० ले पराजित भएयता मोन्चेनग्लाडवाकले हार बेहोरेको छैन । जसमा तीन जित र एक बराबरीको नतिजा छ ।
हारपछि बायर्न शीर्षस्थानमा यथावत रहेपनि अंक दुरी बढाउनबाट चुक्यो । बायर्नको १८ खेलबाट ४३ अंक पुगेको छ । एक खेल कम खेलेको दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुन्डको ३४ अंक छ । बायर्नलाई हराएको मोन्चेनग्लाडवाक २२ अंक जोडेर ११औं स्थानमा छ ।

