एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमन्डका सीईओ हान्ज जोआचिम वाट्जकेले नर्वेली युवा स्टार एर्लिङ हालाण्डलाई जनवरी ट्रान्सफर विन्डोमा बिक्री नगर्ने स्पष्ट पारेका छन्। एज जर्मन मिडियासँग कुराकानी गर्ने क्रममा वाट्जकेले हालाण्डलाई जनवरी ट्रान्सफर विन्डोमा बिक्री गर्ने आफूहरुको योजना नरहेको स्पष्ट पारेका हुन्।
डर्टमन्ड बुन्डेसलिगाको उपाधि दौडबाट बहिरिनसकेको हुँदै हालाण्डलाई तत्काल बेच्ने कुरा सोच्न पनि नसकिने वाट्जकेले बताए। युरोपा लिग सहित विभिन्न प्रतियोगितामा डर्टमन्डको सम्भावना रहेका कारण त्यतातर्फ आफूहरु केन्द्रित रहेको वाट्जकेको भनाई छ।
“बोरुसिया डर्टमन्ड अझै तीन प्रतियोगिताहरूमा छ। ती प्रतियोगिताहरूमा उत्कृष्ट टोली सहित प्रतिष्पर्धा गर्न हामी चाहन्छौं। त्यस्तैले हालाण्डलाई जनवरीमै क्लब छाड्न दिने पक्षमा हामी छैनौँ।”,वाट्जकेले भने।
त्यस्तै उनले हालाण्डलाई क्लबमै अड्याइराख्न असम्भव नहुने पनि बताए। उनका अनुसार हालाण्डलाई अड्याउन क्लबले सक्दो प्रयास भने गर्नेछ। उनले भने,”निस्सन्देह, उनलाई अड्याउन कठिन छ। तर क्लबले प्रयास पनि छाड्ने छैन।”
उनको यस भनाईसँगै हालाण्ड जनवरी ट्रान्सफर विन्डोमा कतै पनि नजाने स्पष्ट भएको छ। हालाण्ड माथि धेरै ठूला क्लबहरुको नजर रहेपनि अब डर्टमन्डले सबै प्रस्ताव अस्विकार गर्नेछ।
खबरमा आएअनुसार हालाण्डले कुन क्लबमा जाने भन्ने विषयमा छिट्टै नै निर्णय गरिसक्नुपर्नेछ। डर्टमन्डले सो निर्णय गर्नको लागि हालाण्डलाई अल्टिमेटम समेत दिसकेको बताइन्छ।