एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) का डिफेन्डर सर्जियो रामोसले चौंथो खेलमा डेब्यू गोल गर्न सफल भएका छन्। पिएसजी गएपछि आइतबार चौंथो खेल खेल्नेक्रममा रामोसले डेब्यू गोल गरेका हुन्। रेइम्सलाई पराजित गर्नेक्रममा रामोसले खेलको ६२औं मिनेटमा गोल गरेका थिए। डेब्यू गोल गरेसँगै रामोसको फ्रेन्च लिग वानमा खाता खोलिएको छ।
रामोसले पिएसजीका लागि पूरा ९० मिनेट खेलेको आइतबार नै पहिलोपटक हो। रियल म्याड्रिडबाट पिएसजी आएयता उनी पहिलो रोजाईमा पर्न सकिरहेका थिएनन्। तर आइतबार भने उनलाई शुरुवाती ११ मै राखिएको थियो।
खेलपछि पत्रकारहरुसँग कुराकानी गर्दै रामोसले डेब्यू गोल गर्न सकेकोमा खुशी व्यक्त गरे। पहिलो पटक पिएसजीका लागि पूरा ९० मिनेट खेल्न पाएकोमा रामोस खुशी देखिएका थिए।
“म यो जित र यस टोलीका लागि पहिलो गोल गर्न सक्दा धेरै खुशी भएको छु। पूरा ९० मिनेट खेल्न पाएकोमा पनि मलाई अत्यन्त खुशी लागेको छ।”,रामोसले भने। रामोसले गोल बढाउँदै लैजान सकियोस् र पिएसजी समर्थकबाट समर्थन मिलोस् भन्ने आशा पनि व्यक्त गरे।
उनले भने,”मलाई समर्थकको साथ चाहिन्छ। पिएसजीको लागि यो मेरो पहिलो गोल हो र आशा छ कि अझ गोल थपिनेछन्। सबै भन्दा महत्वपूर्ण कुरा रुटिनको निर्माण हो। म समूहमा तीन हप्ता देखि छु र म लयमा आइरहेको छु।”
रामोसले गरेको गोलको भिडियो हेर्न यहाँ जानुहोस् !

