एजेन्सी – यसै सिजन युभेन्टसबाट म्यानचेस्टर युनाइटेड पुग्दा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोका अनेकौं योजना र लक्ष्य थिए। गत सिजन युरोपा लिगको फाइनल सम्मको यात्रा तर गरेको र प्रिमियर पुगको उपविजेता रहेको युनाइटेड पुगेर प्रिमियर लिग देखि च्याम्पियन्स लिग सम्म जित्ने उनको योजना थियो।
तर जब रोनाल्डो युनाइटेड पुगे, युनाइटेड उल्टो बाटोमा हिड्न थाल्यो। पहिला उत्कृष्ट प्रदर्शन गर्दै आएको टोली एक पछि अर्को खेलमा पराजित हुन थाल्यो। त्यसबीचमा युनाइटेडले प्रशिक्षक परिवर्तन समेत गर्यो। प्रशिक्षक परिवर्तन पछि युनाइटेडमा केहि सुधार पक्कै भएको छ। पहिला शिर्ष चारमै गर्न नसक्ने अवस्थामा देखिएको युनाइटेड यति बेला शिर्ष चारका लागि प्रतिष्पर्धा गर्न सक्ने अवस्थामा उभिएको छ।
उपाधिका लागि युनाइटेड पुगेका रोनाल्डोले अब क्लबलाई च्याम्पियन्स लिगमा छनौट गराउन मिहिनेत गर्नुपर्ने भएको छ। यस अवस्थासँगै रोनाल्डोले युनाइटेड छाड्ने चर्चा पनि चल्न थालेको छ। युनाइटेड च्याम्पियन्स लिगका लागि छनौट हुन नसकेको अवस्थामा रोनाल्डोले युनाइटेड छाड्नेमा स्पष्ट रहेको विभिन्न खेल मिडियाहरु दावी गर्छन्।
यसैबीच रोनाल्डो आफ्नो पूर्व क्लब रियल म्याड्रिड रहने विचारमा रहेको चर्चा समेत चलेको छ। स्पेनमा रहेका विभिन्न मिडियाहरुले रोनाल्डो म्याड्रिड फर्किने सोचमा रहेको चर्चा चलाएका हुन्। स्पेन फर्किनको लागि कुरा चलाउन रोनाल्डोले आफ्ना एजेन्ट जोर्गे मेन्डेसलाई आग्रह गरेको बताइन्छ। खबरका अनुसार रोनाल्डोले मेन्डेसलाई रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग कुरा गर्न आग्रह गरेका छन्।

