एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले कोलम्वियालाई पराजित गरेको छ । अर्जेन्टिनाले घरेलु मैदानमा १–० को झिनो जित निकालेको हो ।
अर्जेन्टिनामा बुधबार बिहान भएको खेलमा घरेलु टोलीको जितमा लोउटारो मार्टिनेजले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले २९औं मिनेटमा मार्काेस एकुनाको पासमा गोल गर्न सफल भएका थिए ।
त्यसअघि १४औं मिनेटमा मिगुइल बोर्जाको पासमा लुइस डियाजको प्रहारलाई अर्जेन्टिनी डिफेन्डर लिसान्द्रो मार्टिनेजले ब्लक गरिदिए । १६औं मिनेटमा एन्जल डि मारियाको प्रहार पोस्ट नजिकैबाट थोरै बाहिरियो ।
२९औं मिनेटमा माटिएनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए । उनले मार्काेस एकुनाको पासमा गोल गर्न सफल भएका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा लुइस डियाजको पासमा मिगुइल बोर्जाको प्रहारलाई अर्जेन्टिनी गोलरक्षक इमिलियानो मार्टिनेजले गोललाइनबाट बचाउँदै बराबरी टारे ।
५९औं मिनेटमा डि मारियाको प्रहारले पोस्टको दिशा लिन सकेन । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा मोजिकाको क्रसलाई लिसान्द्रो मार्टिनेजले क्लियर गरिदिदा कोलम्विया बराबरीबाट चुक्दै हार बेहोर्न पुग्यो ।
यो जितसँगै विश्वकपमा छनोट भइसकेको अर्जेन्टिना १५ खेलबाट ३५ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । अपराजित रहेको अर्जेन्टिनाले १० जित र ५ बराबरीको नतिजा निकालेको छ । अर्जेन्टिनासँगको हारसँगै कोलम्वियालाई विश्वकपमा छनोट हुने सम्भावना न्युन बन्दै गएको छ ।
अब छनोटको बाँकी खेलमा कोलम्वियाले जितेर मात्रै पुग्दैन । अन्य टोलीको नतिजा पनि कुर्नुपर्ने अवस्था बनेको छ । कोलम्विया १६ खेलबाट १७ अंक जोडेर सातौ स्थानमा रहेको छ । शीर्ष चार टोलीले सिधै तथा पाँचौ हुने टोलीले प्ले अफको बाटो अपनाउनुपर्ने हुन्छ ।

