रोनाल्डोको ठाउँमा डुसान, पूरा होला रोनाल्डोको कमी ?

एजेन्सी – युभेन्टसका नयाँ स्ट्राइकर डुसान भ्लाहोभिकलाई युरोपका शीर्ष युवा खेलाडीमध्ये एकमा पर्छन्। गएको केहि सिजन देखि उच्च प्रदर्शन गर्दै आएका उनी जारी सिजनमा त झनै राम्रो लयमा देखिएका छन्।

सिरी ‘ए’को जारी सिजनमा फियोरेन्टिनाका लागि २४ खेल खेल्दा २० गोल गरिसकेका छन् भने २ असिस्ट दिएका छन्। फियोरेन्टिनाका लागि उनी मुख्य खेलाडी थिए। डुसान सिरी ‘ए’को जारी सिजनका शिर्ष गोलकर्ता समेत हुन्।

उच्च प्रदर्शन गरिरहेकै कारण युभेन्टसले उनलाई महँगो मूल्य तिरेर भित्र्यायो। जनवरी ट्रान्सफर विन्डोमै युभेन्टसले ७५ मिलियन युरोमा उनलाई भित्र्याएको हो। जनवरी ट्रान्सफर विन्डोका उनी सबै भन्दा महँगो खेलाडी हुन्।

क्रिस्टियानो रोनाल्डोले क्लब छाडेपछि समस्यामा परेको युभेन्टसको उनले उद्धार गर्ने अनुमान धेरैको छ। यसै सिजन रोनाल्डोले क्लब छाडेपछि युभेन्टसको अवस्था नाजुक भएको छ। युभेन्टस हालको अवस्थामा लिगको पाँचौं स्थानमा छ।

युभेन्टस शिर्ष स्थानमा रहेको इन्टर मिलान भन्दा ११ अंकले पछाडी छ। खेलमा सुधार गर्न नसकेको खण्डमा युभेन्टस च्याम्पियन्स लिगका लागि पनि छनौट नहुने अवस्था छ। तर डुसानको आगमनले युभेन्टस अहिलेको भन्दा फरक अवस्थामा हुने धेरैले अपेक्षा गरेका छन्।

डुसानलाई पहिला रोनाल्डोले प्रयोग गर्ने सात नम्बरको जर्सी दिइएको छ। अब उनले रोनाल्डोको ठाउँ लिनेछन्। उनले युभेन्टसका लागि के कस्तो प्रदर्शन गर्छन् भन्ने हेर्न भने बाँकी नै छ।

छैन कुनै दबाव

डुसानका अनुसार सात नम्बरको जर्सी लगाउँदैमा कुनै खेलाडीको स्थान लिन पर्ने दबाव उनीमा छैन। जर्सीको नम्बरले खासै फरक नपार्ने हुँदा जर्सी नम्बरका कारण आफू दबावमा नरहने उनको भनाई छ। क्लबका हरेक जर्सीको इतिहाँस हुने भएपनि सबै जर्सी लगाउने खेलाडीहरुको महत्वपूर्ण जिम्मेवारी हुने उनले बताए।

“मैले नम्बर ७ छनोट गरें किनभने यो नम्बर ९ को सबैभन्दा नजिक थियो। युभेन्टसको हरेक जर्सीमा महत्वपूर्ण जिम्मेवारी हुन्छ। व्यक्तिगत जर्सी नम्बर महत्त्वपूर्ण हुँदैन। यदि केहि महत्वपूर्ण हुन्छ भने त्यो समर्पण र दृढ संकल्पका साथ मैदानमा उत्रने कुरा हो।”,डुसान भन्छन्।

प्रकाशित : बुधबार, माघ १९, २०७८११:३९

जनवरी ट्रान्सफरमा इङ्लिस क्हलबरुले पैसाको खोला बगाए, सबै भन्दा बढी कसले खर्च गर्यो ? कति ?