एजेन्सी – जापानी फरवार्ड ताकुमी मिनामिनोको दुई गोल मद्दतमा लिभरपुलले प्रिमियर लिग प्रतिद्धन्द्धी नर्विच सिटीलाई पराजित गर्दै एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
लिभरपुलले घरेलु मैदानमा नर्विच सिटीमाथि २–१ को जित निकालेको हो । नर्विचका लुकास रुपले एक गोल फर्काए । एनफिल्डमा बुधबार राति भएको खेलको २७औं मिनेटमा मिनामिनोले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए । उनले डिभोक ओरिगीको पासमा गोल गर्न सफल भएका थिए ।
३९औं मिनेटमा मिनामिनोले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै लिभरपुललाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ७६औं मिनेटमा लुकास रुपले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल विजयी हुन सफल भयो ।
यस्तै प्रिमियर लिग क्लब चेल्सीले च्याम्पियनसिप क्लब लुटोन टाउनमाथि उसकै मैदानमा ३–२ को संघर्षपूर्ण जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेको छ चेल्सीको जितमा सउल निग्वेज, टिमो वेर्नर र रोमेलु लुकाकुले गोल गरे । लुटोन टाउनका रिस वर्क र ह्यारी कर्निकले गोल गरे ।
यस्तै अर्काे साउथह्याम्टनले वेस्ट ह्याम युनाइटेडलाई ३–१ ले पराजित गरेको छ । साउथह्याम्टनको जितमा रोमेन पेराअड, जेम्स वार्ड प्राउज र अर्मान्डो ब्रोजाले गोल गरे । वेस्ट ह्यामका मिचेल एन्टेनियोले एक गोल फर्काए ।

