काठमाडौं : बैंकहरूले थप नयाँ कर्जा दिनै छाडेका छन्। लगानीयोग्य पुँजी (तरलता) अभाव भएपछि बैंकहरूले नयाँ कर्जा दिन छोडेका हुन्। कर्जा दिने रकम बैंंकसँंग नै अभाव भएपछि व्यवसायीले पनि कर्जा पाउन छोडेका छन्। यो समाचार अन्नपूर्णपोस्ट दैनिकमा प्रकाशित छ।
तरलता अभावका कारण पुराना कर्जासमेत दिन हम्मे परिरहेको बैंकरहरू बताउँछन्। चालू आवको ८ महिना बितिसक्दा पनि २–३ वटा बाहेक वाणिज्य बैंकमा तरलता अभाव यथावत् नै छ। तरलताको यो समस्या साउनसम्मै लम्बिने बैंकरहरूको अनुमान छ।
२७ वटा वाणिज्य बैंकको सीडी रेसियो औसतमा ९०.९९ प्रतिशत पुगिसकेको छ। सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेलका अनुसार बैंकहरूको निक्षेप संकलन पहिलाजस्तो हुन सकेको छैन। निक्षेपमा धेरै तलमाथि भइरहेकाले पनि कर्जा बढाउने स्थिति नभएको पोखरेल बताउँछन्।
‘१–२ वटाबाहेक सबै बैंकको सीडी रेसियो ९० प्रतिशत माथि छ। सिभिलको पनि ९० हाराहारीमा छ,’ उनले अन्नपूर्णसँग भने, ‘निक्षेप नबढ्ने भएपछि नयाँ कर्जा दिनै छाडियो।’ कुनै पनि बैंकले अहिले आयातका लागि प्रतीत पत्र (एलसी) भुक्तानी, प्रोजेक्ट फाइनान्सिङ गरिसकेका बाहेक अरू कर्जा बढाउन सक्ने अवस्था नरहेको उनले बताए। ‘चैत्रमा नै गाह्रो भइसक्यो। वैशाखमा हुने चुनाव खर्च र सरकारी खर्च बढे केही सहज होला। तर, निक्षेपमा खासै वृद्धि हँुदैन,’ सीईओ पोखरेल भन्छन्, ‘साउनदेखि झन चुनौती छ।’
राष्ट्र बैंकले असारपछि सीडी ९० प्रतिशतको सिलिङ नघाउन नमिल्ने भनेको छ। अहिलेसम्म डिभेन्चरलाई निक्षेपमा गणना गर्न दिएको छ। यसमा रहेको करिब ६० अर्ब रुपैयाँ निक्षेपमा गणना गर्न पाइँदैन। यस्तै, अहिले स्थानीय तहमा गएको रकम ८० प्रतिशतसम्म निक्षेपमा चलाउन पाएका छन्। यो पनि असारपछि ५० प्रतिशतमात्रै चलाउन पाउनेछन्। ‘अहिले सीडी ९०–९२ प्रतिशत भएका बैंकहरू प्नि ८८ प्रतिशतमा मात्रै बस्नुपर्ने हुन्छ। यसकारण साउनमा पनि खासै निक्षेप बढ्ला र कर्जा दिन पाइएला भन्ने लाग्दैन,’ उनले भने।

