काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेबाट निर्वाचित काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले पार्टीले टिकट दिए आफू पुनः उठ्ने घोषणा गरेका छन् । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ।
आफ्नो कार्यकालमा हालसम्म सम्पदा क्षेत्रमा कामपाले गरेको कार्यविवरण प्रस्तुत गर्न आयोजित पत्रकार सम्मेलनमा मेयर शाक्यले भने– ‘अन्य स्थानीय तहको तुलनामा कामपाले उल्लेखनीय काम गर्न सफल भएको छ । पार्टीले टिकट दिए फेरि निर्वाचित भएर महानगरवासीको सेवा गर्न तयार छु ।’
पत्रकार सम्मेलनमा उनले साढे ४ वर्षको अवधिमा काठमाडौं महानगरपालिकाले १ सय ४६ वटा सम्पदाको संरक्षण, प्रबद्र्धन, पुनर्निर्माण र शौन्दर्यीकरण सम्पन्न गरेको जानकारी दिए। यसका लागि करिब साढे २ अर्ब रुपियाँ खर्च भएको जानकारी दिँदै मेयर शाक्यले जनप्रतिनिधि निर्वाचित भएको सो अवधिमा ऐतिहासिक काम भएको दाबी गरे।
पत्रकार सम्मेलनमा उनले महानगरको क्षेत्रगत काममध्ये मूर्तअमूर्त सम्पदा जोगाउन, संवद्र्धन तथा प्रवद्र्धन गर्न लिएका नीति, बनाइएका योजना र योजना कार्यान्वयनका लागि विनियोजन गरिएको बजेटका विषयमा जानकारी गराएका थिए । उनले भने – ‘हामीले संस्थागत निर्णय गर्दा पदाधिकारीबिच छलफल र परामर्श हुन्छ । महानगरको निर्णय गर्ने, योजना बनाउने पद्धति छ । सोही अनुसार सम्पदा पुनर्निर्माण गरेका हौं ।’

