एजेन्सी – शनिबार मात्रै अर्जेन्टिनी सुपरस्टार फुटबलर लियोनेल मेस्सीले विश्वकप पश्चात धेरै कुराहरुमा पुनर्विचार गर्ने बताए। फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा भेनेजुएलालाई पराजित गरेपछि उनले विश्वकपको नतिजा जे जस्तो भएपनि करियरलाई लिएर केहि कठीन निर्णयहरु गर्ने संकेत गरे।
“म अर्को खेलको बारेमा मात्रै सोचिरहेको छु। अर्को खेलमा इक्वेडरको सामना हुँदैछ, त्यही खेल मेरो प्राथमिकतामा छ। तर राम्रो भएपनि नराम्रो भएपनि विश्वकप पछि मैले धेरै कुराहरूमा पुनर्विचार गर्नुपर्नेछ।”,मेस्सीले भनेका थिए।
मेस्सीको सो भनाईसँगै उनले के गर्न लागेका हुन् भन्नेमा सबैको चासो छ। मेस्सीको सो भनाईको के अर्थ हुन सक्छ भन्ने बारे यहाँ केहि चर्चा हुँदैछ। मेस्सीको सो भनाईले के संकेत गरेको हो ?
राष्ट्रिय टोलीबाट सन्यास
मेस्सीको सो भनाईसँगै मेस्सीले राष्ट्रिय टोलीबाट सन्यास लिने चर्चा चलिरहेको छ। विश्वकपमा जे जस्तो प्रदर्शन गरेपनि यस वर्षको विश्वकप मेस्सीको करियरको अन्तिम विश्वकप हुन सक्छ र उनले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट सन्यास लिन सक्छन्।
पिएसजी छाड्ने संकेत
बार्सिलोनाबाट यहि सिजन पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगेका मेस्सी त्यहाँ अपेक्षा गरिएजस्तो प्रदर्शन गर्न सकिरहेका छैनन्। पिएसजी जारी सिजनमा च्याम्पियन्स लिगबाट समेत बाहिरिसकेको छ। मेस्सीले धेरै कुराहरुमा पुनर्विचार गर्ने बताउनुलाई पिएसजी छाड्ने संकेतको रुपमा समेत हेरिएको छ।
बार्सिलोना फिर्ती
मेस्सी बार्सिलोनामा हुँदै छुट्टै स्तरमा थिए। पिएसजी पुगेपछि मेस्सीको सो स्तर हराएको छ। गएको केहि समय देखि मेस्सी बार्सिलोना फिर्ता हुन चाहेको चर्चा पनि चलिरहेको छ। विश्वकप सकिएपछि उनले बार्सिलोना फिर्ता हुन प्रयास गर्न सक्ने धेरैको अनुमान छ।

