एजेन्सी – लिभरपुलका पूर्व स्ट्राइकर स्टान कोलिमोरले आर्सनल जारी सिजनको शिर्ष चार दौडमा पछि पर्ने दावी गरेका छन्। एक अन्तर्वार्ताका क्रममा कोलिमोरले शिर्ष चारको दौडमा आर्सनललाई अन्य क्लबहरुले पछि पार्ने दावी गरेका हुन्।
एक मिडियासँग बोल्दै कोलिमोरले आर्सनल भन्दा पनि म्यानचेस्टर युनाइटेड र टोटेनह्याम शिर्ष चारको दौडमा सफल हुने बताए। सिजनका बाँकी रहेका खेलहरुमा आर्सनल चुक्न सक्ने कोलिमोरको अनुमान छ। मिकेल आर्टेटाको युवा टोली अन्तिम सम्म राम्रो प्रदर्शन गर्न सक्छ भन्नेमा कोलिमोरलाई शंका छ।
“शिर्ष चारको दौडमा युनाइटेड र टोटेनह्याम मध्ये एक अगाडी हुने म देख्छु। अहिले शिर्ष चारमा आर्सनल रहेपनि सिजनको अन्त्य सम्म टिकिरहन सक्छ जस्तो लाग्दैमा। आर्सनलको युवा टोली सिजनको अन्त्यमा गएर धर्मराउन सक्छ। यदि उनीहरुले मलाई गलत साबित गरे भने म आर्टेटा लेखिएको जर्सी लगाउने छु र सो तस्विर सामाजिक संजालमा अपलोड गर्ने छु।”,कोलिमोरले भने।
सिजनको शुरुवातमा केहि फितली प्रदर्शन गरेपनि आर्सनल सिजन अगाडी बढ्दै गर्दा राम्रो प्रदर्शन गरिरहेको छ। सिजनका २८ खेल खेल्दा आर्सनलले १७ जित निकाल्दा मात्रै ८ खेलमा हार बेहोरेको छ। आर्सनल ५४ अंक सहित लिगको चौंथो स्थानमा रहेको छ।
एक खेल बढी खेलेका म्यानचेस्टर युनाइटेड र टोटेनह्याम छैठौं र पाँचौ स्थानमा छन्। टोटेनह्यामको ५१ अंक छ भने युनाइटेडको ५० अंक छ। एक कम खेलेको आर्सनलले सिजनका बाँकी खेल गम्भीरताका साथ खेले मात्रै शिर्ष चारमा टिकिरहनेछ।

