काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला भनिएका दलहरुले देश बनाउन नसक्ने दावी गरेका छन्। बिहिबार तनहुँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा लिङ्देनले ठूला दलबाट देश बन्छ भन्ने अपेक्षा राख्नु बेकार हुन जाने दावी गरेका हुन्।
तनहुँको दमौलीमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले ठूला दलबाट देश बन्छ भनेर अपेक्षा गर्नु दूध दुहनका लागि साँढेको टाङ मुनि बाल्टी थाप्नु जस्तै भएको टिप्पणी गरे।
उनका अनुसार साँढेको टाङमुनी बाल्टी थापेर साँढेले दूध दिएन भनेर त्यसलाई सुम्सुम्याउनु, कन्याउनु र ठूला दलबाट देश बन्छ भनेर अपेक्षा राख्नु एकै हो।
“साँढेको टाङमुनी बाल्टी थापेर साँढेले दूध दिएन भनेर त्यसलाई सुम्सुम्याउँदा, कन्याउँदा, हैन यसलाई खाना पुगेन भनेर दाना थप्दा पनि दूध दिँदैन । ठूला दलबाट देश बन्छ भनेर अपेक्षा गर्नु हो त्यस्तै हो।”,ठूला भनिएका दलहरु प्रति लक्षित गर्दै लिङ्देनले भने।
त्यसक्रममा लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी जस्ता ठूला पार्टीलाई भोट हाले देशले परिवर्तन र विकास प्राप्त नगर्ने स्पष्टसँग बताए। पूर्खा देखि भोट हाल्दै आएको पार्टी भनेर ठूला पार्टीहरुलाई भोट हाले बेकार हुने उनको भनाई छ।
उनले भने,”अब तिनै पार्टी, तिनै नेताबाट देश बन्छ भनेर तिनैलाई हाम्रो बाजेको पार्टी बाउको पार्टी मैले यति लेबि तिरेको भनेर उनैलाई भोट दिइराख्नु भनेको र यिनै पार्टीबाट देश बन्छ भनेर अपेक्षा राख्नु भनेको साँढेको टाङमुनि बाल्टी थाप्नु जस्तै हो। जबसम्म तिनै पार्टीलाई भोट हाल्नुहुन्छ तबसम्म देशले परिवर्तन र विकास प्राप्त गर्दैन।”