काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफू दुवै कम्युनिस्ट हुन नसकने बताएका छन्। सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा ओलीले प्रचण्ड र आफू मध्ये दुवै कम्युनिष्ट हुन नसक्ने बताएका हुन्।
प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसनको सम्मेलनलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड कम्युनिस्ट भए आफु कम्युनिस्ट नहुने बताए। प्रचण्डको आलोचना गर्नेक्रममा ओलीले मानिसहरुले नबुझेर वामपन्थी भन्दा प्रचण्ड सम्झिने गरेको उल्लेख गरे। त्यसक्रममा उनले पहिला पनि आफुले प्रचण्ड कम्युनिस्ट हुन् भने म होइन भनेको स्मरण गरे।
“नबुझेर मान्छेले के भनिदिन्छ भने म त वामपन्थी त हुन सक्दिन । के पनि भयो भने वामपन्थी भन्यो भने मान्छेले प्रचण्ड सम्झिन्छ, अनि कसरी हुन्छ ? मैले एक पटक भनेको थिएँ भने यदि प्रचण्ड भन्ने मान्छे कम्युनिस्ट हुन् भने म कम्युनिस्ट होइन । म कम्युनिस्ट हुँदा प्रचण्ड कम्युनिस्ट हुनै सक्दैनन्।”,ओलीले भने।
ओलीले आफू र प्रचण्ड बीच धेरै भिन्नता रहेको दावी गर्न छुटाएनन्। उनले प्रचण्ड द्वन्द्व मच्चाउने व्यक्ति भएको र आफू भने शान्तिको पक्षधर रहेको बताए। ओलीका अनुसार प्रचण्डले फुटाउन र बिगार्न मात्रै जानेका छन्।
उनले भने,”उहाँ अकारण देशमा द्वन्द्व मच्चाउनुहुन्छ, म शान्तिको पक्षमा हुन्छु । उहाँ जातजातमा भिडाउन खोज्नुहुन्छ, म मिलाउन खोज्छु । उहाँ मधेस र पहाडलाई भिडाउन खोज्नुहुन्छ, म शान्ति कायम गरेर मेलमिलाप गरेर अगाडि बढाउनुपर्छ भन्छु ।कसरी हुन्छ ? उहाँ यो धर्म र त्यो धर्म भनेर घृणाको खेती गर्न खोज्नुहुन्छ, म त्यो गर्दिनँ । उहाँ वामपन्थी आन्दोलन कमजोर पार्न काम गर्न हुनुहन्छ, म बलियो बनाउन लाग्छु । मैले एकता गराउने काम गरेँ, उहाँ फुटाएर हिड्नुभयो।”

