एजेन्सी – सन् २०२१-२२ को सिजनको सुखद अन्त्य गर्ने तयारीमा रहेको क्याटलान क्लब बार्सिलोनालाई नराम्रो झड्का लागेको छ। क्लब युरोपा लिगबाट बाहिरिएकै दिन एक महत्वपूर्ण खेलाडी घाइते भएसँगै बार्सिलोनालाई नराम्रो झड्का लागेको हो।
बार्सिलोनाका महत्वपूर्ण खेलाडी रहेका युवा मिडफिल्डर पेड्री घाइते भएको स्पेनिस मिडियाहरुले जनाएका छन्। बिहिबार राति युरोपा लिगको क्वाटरफाइनलको दोस्रो लेगमा फ्रान्कफर्ट विरुद्ध खेल्ने क्रममा पेड्री घाइते भएको बताइन्छ।
बिहिबार राति फ्रान्कफर्ट विरुद्धको खेलमा पेड्रीलाई पहिलो हाफ पश्चात टोली बाहिर राखिएको थियो। पेड्री घाइते भएको बार्सिलोनाले आधिकारिक रुपमै पुष्टि गरेको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै बार्सिलोनाले पेड्रीको ह्यामस्ट्रिङमा समस्या देखिएको जानकारी गराएको छ।
बार्सिलोनाका अनुसार शुक्रबार गरिएको परिक्षणले पेड्रीको देब्रे ह्यामस्ट्रिङको फेमोरल बाइसेप्स फुटेको देखाएको छ। तिघ्राको मासुमा देखिएको सो समस्या निको नभएसँगै पेड्री उपलब्ध नहुने बार्सिलोनाले जनाएको छ।
घाइते भएसँगै पेड्रीले सिजनमा बाँकी सबै खेल गुमाउने सम्भावना बढेको छ। पेड्रीले सिजनका बाँकी सबै खेल गुमाउने स्पेनिस मिडियाहरु दावी गरिरहेका छन्।
पेड्री यस अगाडी पनि घाइते भएका थिए। उनी सन् २०२१ को अन्तिम दुई महिना मैदान बाहिर थिए। जनवरीमा उनी बार्सिलोनाको टोलीमा फिर्ता भएका थिए। त्यसयता उनले बार्सिलोनाको सफलतामा महत्वपूर्ण भूमिका निभाएका थिए।

