इन्टर मिलान उपाधि होडमै, एसी मिलानलाई कडा टक्कर !

एजेन्सी – इटालियन सिरी ‘ए’ को उपाधि दौडमा रहेको इन्टर मिलानले स्पेजियालाई पराजित गरेको छ । इन्टरले घरेलु टोली स्पेजियालाई ३–१ ले पराजित गर्दै उपाधि होडलाई कायमै राखेको हो ।

ला स्पेजियामा शुक्रबार राति भएको खेलमा इन्टरको जितमा मार्सेलो ब्रोजोभिक, लोउटारो मार्टिनेज र एलेक्सिस सान्चेजले गोल गरे । घरेलु टोली स्पेजियाका जुलियो मेजेरोले एक गोल फर्काए ।

खेलको ३१औं मिनेटमा मार्सेलो ब्रोजोभिकले गोल गर्दै इन्टरलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । उनले ड्यानियल डि एम्ब्रुसोको पासमा गोल गर्न सफल भएका थिए ।

७३औं मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे । उनले इभान पेरिसिसको पासमा गोल गर्न सफल भएका थिए । ८८औं मिनेटमा जुलियो मेजेरोले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । उनले साल्भाडोर फेररका पासलाई सदुपयोग गरेका थिए ।

त्यसपछि इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा परिवर्तित खेलाडी एलेक्सिस सान्चेजले गोल गर्दै टोलीको जित पक्का गरे । उनले लोउटारो मार्टिनेजको पासमा गोल गर्न सफल भएका थिए ।

यो जितसँगै उपाधि होडमै रहेको दोस्रो स्थानको इन्टरको ३२ खेलबाट ६९ अंक पुगेको छ । इन्टर शीर्षस्थानको मिलानभन्दा २ अंकले पछि छ । मिलानले एक खेल बढी खेलेको छ । पराजित स्पेजिया ३३ खेलबाट ३३ अंक जोडेर १५औं स्थानमा छ ।

प्रकाशित : शनिबार, बैशाख ०३, २०७९०७:५२

कुनै पनि प्रशिक्षकले बनाउन नसकेको रेकर्ड मोरिन्होले बनाए !