एजेन्सी – प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीमाथि जित निकाल्दै लिभरपुल एफए कपको फाइनलमा प्रवेश गरेको छ । लिभरपुलले सिटीलाई ३–२ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
७ पटकको च्याम्पियन लिभरपुल सन् २०१२ पछि एफए कपको फाइनलमा प्रवेश गरेको हो । त्यतिबेला लिभरपुल चेल्सीसँग २–१ ले पराजित भएको थियो । त्यसअघि सन् २००६ मा वेस्ट ह्याम युनाइटेडलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै उपाधि जितेको थियो ।
वेम्वली स्टेडियममा शनिबार राति भएको खेलमा लिभरपुलको फाइनल यात्रामा साडियो मानेले दुई तथा इब्राहिमा कोनाटले एक गोल थपे । सिटीका ज्याक ग्रेलिस र बर्नाडो सिल्भाले गोल फर्काए ।
खेलको जवौं मिनेटमा इब्राहिमा कोनाटको गोलबाट लिभरपुलले सुरुवाती अग्रता लिएको थियो । उनले एन्ड्रिउ रोबर्टसनको पासमा गोल गर्न सफल भएका थिए । १७औं मिनेटमा साडियो मानेले गोल गदै लिभरपुलको अग्रता दोब्बर पारे ।
४५औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै लिभरपुललाई पहिलो हाफमै ३–० को आरामदायी स्थितिमा अघि बढाए । उनले थियागो अलकान्ताराको पासलाई सदुपयोग गरेका थिए ।
दोस्रो हाफको शुरुमै अर्थात ४७औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै सिटीलाई खेलमा फर्कने संकेत दिए । ज्याकले गाव्रियल जेससको पासमा गोल गर्न सफल भएका थिए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा बर्नाडो सिल्भाले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल विजयी हुन सफल भयो ।
लिभरपलविरुद्ध चोटका कारण मिडफिल्डर केभिन डि ब्रुयन र केल वाल्कर नहुनु र पहिलो रोजाईका गोलरक्षक इडर्सन मोराएसलाई नखेलाउनु महँगो सावित बन्यो ।
यो जितसँगै फाइनल यात्रा तय गरेको लिभरपुल यो सिजन चार उपाधि जित्न सक्ने स्थितिमा पुगेको छ । यसअघि नै लिग कप जितिसकेको लिभरपुल अब एफएकप, प्रिमियर लिग र च्याम्पियन्स लिगको उपाधि दौडमा छ । लिभरपुलसँगको हारको नतिजाले सिटीको अब यो सिजन दुई उपाधि जित्ने मात्रै सम्भावना छ । सिटीसामु प्रिमियर लिग र च्याम्पियन्स लिग जित्ने सम्भावना छ ।
अब लिभरपुलले उपाधिका लागि चेल्सी र क्रिस्टल प्यालेसबीचको विजेतासँग १४ मेमा खेल्ने छ । चेल्सी र क्रिस्टल प्यालेसबीचको खेल आइतबार राति हुदैछ ।

