दीपक मनाङे अझै दुई दिन हिरासतमै !

कास्की – कुटपिटको अभियोगमा कास्की प्रहरीद्वारा बिहीबार पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)लाई अनुसन्धानको लागि दुई दिन म्याद थप गरिएको छ ।

सदस्य गुरुङलाई दुई दिन हिरासतमा राखेर अनुसन्धानको लागि जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई सार्वजनिक स्थलमा हातपात तथा दुव्र्यवहार गरेको अभियोगमा प्रदेशसभा सदस्य गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो ।

यसैबीच प्रदेशसभा सदस्य गुरुङविरुद्ध उजुरी हाल्ने एन्फा अध्यक्ष गुरुङलाई समेत आज प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर गरेको अभियोगमा दिउँसो गुरुङलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिए ।

अध्यक्ष गुरुङले गत वर्ष पोखरामा सम्पन्न मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिताको समयमा विभिन्न व्यक्ति तथा संस्थालाई तिर्नुपर्ने रकम नतिरेको तथा रकम नभएको चेक जारी गरेको आरोप लागेको छ ।

प्रकाशित : शुक्रबार, माघ १०, २०७६१३:०२

नेपालमा आइपुग्यो काेराेना भाइरस, सतर्क हुन आग्रह !