एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका फ्रेन्च स्टार स्ट्राइकर करिम बेन्जेमा यति बेला पूरा विश्वलाई चकित पारिरहेका छन्। रियल म्याड्रिडले जारी सिजनमा जुन सफलता हाँसिल गरिरहेको छ, त्यो बेन्जेमाकै कारण सम्भव भएको हो।
बेन्जेमा लगातार चम्किँदा रियल अहिले लालिगा जित्ने संघारमा छ। साथै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्दा पनि बेन्जेमाकै महत्वपूर्ण भूमिका रह्यो। लालिगाको जारी सिजनमा २५ गोल गरिसकेका बेन्जेमाले च्याम्पियन्स लिगमा १४ गोल गरेका छन्। बेन्जेमा लालिगा र च्याम्पियन्स लिग दुवैका शिर्ष गोल कर्ता हुन्।
सन् २०२१-२२ को सिजन निष्कर्ष तर्फ अगाडी बढ्दै गर्दा बेन्जेमा बालोन डी’ओर दौडमा सबै भन्दा अगाडी छन्। एक हिसाबले भन्ने हो भने यस वर्षको बालोन डी’ओर लगभग बेन्जेमाको भइसकेको छ। तर सिजन सकिन केहि समय बाँकी रहेका कारण बेन्जेमालाई बालोन डी’ओर दौडमा अन्य खेलाडीले टक्कर दिन सक्ने सम्भावना भने कायमै छ।
बालोन डी’ओरका लागि बेन्जेमालाई साडियो माने, केभिन डे ब्रुएना, रोबर्ट लेवान्डोस्की, किलियन एम्बाप्पे र मोहम्मद सलाह जस्ता खेलाडीबाट टक्कर मिल्न सक्छ।
प्रिमियर लिग लिभरपुलका साडियो माने र मोहम्मद सलाहबाट बेन्जेमालाई सबै भन्दा खतरा देखिन्छ। दुवै खेलाडी जारी सिजनमा उच्च लयमा रहेका छन्। माने अफ्रिकन कप विजेता समेत हुन् उनले सेनेगललाई विश्वकपमा छनौट गराउन पनि महत्वपूर्ण भूमिका खेलेका थिए। लिभरपुलले थप उपाधि जितेको खण्डमा उनले बालोन डी’ओर दौडमा बेन्जेमालाई पछि पार्न सक्छन्।
त्यस्तै लिभरपुलका सलाह पनि बालोन डी’ओरका मुख्य दाबेदार हुन्। लिभरपुलका लागि लगातार उच्च प्रदर्शन गरिरहेका सलाह प्रिमियर लिगका उच्च गोलकर्ता रहेका छन्। लिभरपुलले च्याम्पियन्स लिग जितेको खण्डमा सलाहले बेन्जेमाबाट बालोन डी’ओर उछिट्याउन सक्छन्।
त्यस्तै म्यानचेस्टर सिटीका केभिन डे ब्रुएना पनि बालोन डी’ओर दौडमै छन्। सिटी प्रिमियर जित्ने संघारमा छ। त्यस्तै सिटीले च्याम्पियन्स लिग पनि जित्न सक्छ। दुवै उपाधि जितेको खण्डमा केभिन डे ब्रुएनाले बेन्जेमालाई बालोन डी’ओर दौडमा पछि पार्नेछन्।
फ्रानको राष्ट्रिय फुटबल टोलीमा बेन्जेमाक सहकर्मी रहेका किलियन एम्बाप्पेबाट पनि बेन्जेमालाई खतरा छ। विश्वकपमा राम्रो प्रदर्शन गर्न सकेको खण्डमा एम्बाप्पेले बेन्जेमालाई बालोन डी’ओर दौडमा टक्कर दिन सक्नेछन्।

