एजेन्सी – डच मिडफिल्डर फ्रान्की डे जोङको क्याटलान क्लब बार्सिलोनामा भविष्य अनिश्चित छ। खबरमा आएअनुसार बार्सिलोनाले उनलाई क्लबमा राख्न चाहेको छैन। डे जोङलाई आउने ट्रान्सफर विन्डोमा बार्सिलोनाले बिक्री गर्न सक्ने बताइन्छ।
पहिल्लो समय बार्सिलोनामा ठीक-ठाक प्रदर्शन गरिरहेका पनि बार्सिलोना डे जोङको प्रदर्शनलाई लिएर पूर्णरुपमा सन्तुष्ट हुन सकिरहेको छैन। जसकारण उनलाई बार्सिलोनाले बिक्री गर्न सक्छ।
त्यस्तै डे जोङ आफैं पनि बार्सिलोनामा सन्तुष्ट छैनन्। बार्सिलोनाको टोलीमा प्रतिष्पर्धा बढिरहँदा उनी अन्योलमा छन्। दुवै पक्ष एक-अर्कासँग सन्तुष्ट हुन नसकिरहेको अवस्थामा उनले आउने ट्रान्सफर विन्डोमै क्लब छाड्न सक्ने सम्भावना रहन्छ।
डे जोङको अवस्थालाई युरोपका विभिन्न क्लबहरुले नजिकबाट नियालिरहेका छन्। ती क्लबहरुमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) समेत रहेको खेल मिडियाहरु बताउँछन्।
च्याम्पियन्स लिग जित्ने योजना बोकेर अगाडी बढिरहेको पिएसजीलाई एक बहुमुखी र रचनात्मक मिडफिल्डर चाहिएको छ। क्लबमा मिडफिल्डरको कम विकल्प छन्। जसकारण डे जोङ पिएसजीका लागि काम आउन सक्छन्।
डे जोङ सन् २०१९ मा डच क्लब आयक्सबाट बार्सिलोना आइपुगेका हुन्। आयक्समा हुँदा उत्कृष्ट प्रदर्शन गरेपनि उनी बार्सिलोना आएपछि पनि त्यति राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन्। तर अझै पनि उनी राम्रा मिडफिल्डरमा गनिन्छन्।