“सरकारी जागिर खानेले छोराछोरी निजी बोर्डिङमा पढाउन पाउँदैनन्, सरकारीमै पढाउनुपर्छ”

डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल सरकारका कर्मचारीले आफ्ना छोराछोरी अनिर्वायरुपमा सरकारी विद्यालयमा भर्ना गरी पढाउनुपर्ने बताएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले दिपायल सिलगढी नगरपालिका–४ बागनेटीमा निर्माण गर्नलागेको निजामती कर्मचारी विद्यालयको शनिबार शिलान्यास गर्नु हुँदै उनले सरकारी जागिर खाएका कर्मचारीले आफ्ना छोराछोरी निजी बोर्डिङमा पढाउने परिपाटी चलेको बताए ।

मुख्यमन्त्री स्वागत
प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टलाई केआइसिंह गाउँपालिका अवलोकन गर्ने क्रममा स्वागत गर्दै गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाही । तस्वीर ः विमलबहादुर विष्ट ÷ रासस

त्यस्तै उनले सुदूरपश्चिम भरीमा निजी स्कुलमा छोराछोरी पढाउने उच्च तहका कर्मचारीको तत्थ्याङ्क सङ्कलनको तयारीसमेत भइरहेको जानकारी गराए । मुख्यमन्त्री भट्टले छाउपडी प्रथाको अन्त्य गर्न जरुरी भएको र सो प्रथा हटाउन सबैले लाग्नुपर्नेमा जोड दिए । उनले भने, “छाउ बार्ने र बार्न लगाउनेलाई सामुहिक वहिस्कार गर्नुपर्छ, कु–सस्कार मान्नेलाई सामुहिक वहिस्कार गरौँ ।”

विद्यालय भवन शिलान्यास
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट डोटीको दिपायल सिलगढी नगरपालिका–४ राजपुरस्थित बागनेटीमा निर्माण हुने निजामती विद्यालय भवन शिलान्यास गर्दै । तस्वीर ः विमलबहादुर विष्ट ÷रासस

उनले प्रदेश सरकारले जनताका आवश्यकता सम्वोधन हुने गरि काम गरिरहेको दाबीसमेत गरे । सङ्घीयताले विकासको ढोका खोलेकोले प्रदेश सरकारबाट सञ्चालन भइरहेका योजना तथा विकासका बारेमा सबै सचेत नागरिकले अनुगमन गर्नुपर्ने बताए । दुई तले छ कोठाको निर्माण हुनलागेको उक्त निजामती स्कुलको लागत रकम रु दुई करोड ३९ लाख ३३९.९० रहेको र निर्माणको समयावधी आगामी २०७८ साल पुस मसान्तसम्म सम्पन्न गरिसक्ने सम्झौता भएको निर्माणको जिम्मा पाएका केठेदार नरेश शाहले बताए ।

उक्त स्कुलका लागि १०० रोपनी जमिन खरिद गरिएको र रु ७५ देखि ८० करोडको लगानीमा क्रमिकरुपमा आगामी वर्षमा पनि नयाँ स्कुल भवन, आवास गृह, खेलकुद मैदान र स्वीमङ पुललगायका संरचना निर्माण गरिने योजना रहेको मुख्यमन्त्रीका स्वकीय सचिब शिवसिंह ओलीले जानकारी दिए ।

प्रकाशित : शनिबार, माघ ११, २०७६०७:१३

एमसिसी पारित गर्न केही प्रावधान परिमार्जन गरिनुपर्छ – गृहमन्त्री