एजेन्सी – दुई गोलको अग्रता जोगाउन नसक्दा यो सिजनको फ्रेन्च लिग वान च्याम्पियन बनिसकेको पेरिस सेन्ट जर्मेन (पिएसजी) बराबरीमा रोकिएको छ ।
पिएसजी घरेलु मैदानमा ट्रोएससँग २–२ गोलको बराबरीमा रोकिएको हो । पिएसजीका लागि मार्किन्हस र नेयमारले गोल गर्दा ट्रोएसका इके उग्वो र फ्लोरिएन टारडिउले गोल फर्काए ।
पार्क डेस प्रिन्सेससमा आइतबार राति भएको खेलको छैटौं मिनेटमा मार्किन्हसको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिन सफल भएको थियो । उनले एन्जल डि मारियाको पासमा गोल गर्न सफल भएका थिए ।
२५औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । ३०औं मिनेटमा इके उग्वोले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । ४९औं मिनेटमा फ्लोरिएन टारडिउले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।
५७औं मिनेटमा नेयमारले गोल गरेपनि उक्त गोलको मुभमा पहिले नै फउल देखिएपछि गोलले मान्यता पाएन । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगिन पुग्यो ।
यो बराबरीसँगै शीर्षस्थानमा रहेको पिएसजीको ३६ खेलबाट ८० अंक पुगेको छ । ट्रोएस ३७ अंक जोडेर १५औं स्थानमा रहेको छ ।

