एजेन्सी – प्रिमियर लिग म्यानचेस्टर सिटी लामो समय हात धोएर नर्वेली स्टार एर्लिङ हालाण्डको पछि लागेको छ। हालाण्डले बोरुसिया डर्टमन्ड छाड्ने पक्का भएसँगै सिटी हालाण्डको पछि परेको हो।
डर्टमन्डले हालाण्डलाई आउने ट्रान्सफर विन्डोमै बिक्री गर्ने तयारी गरेको छ। सो खबर बाहिरिए देखि नै युरोपका धेरै क्लबहरु हालाण्ड भित्र्याउने दाउ गरिरहेका छन्। तर जर्मन मिडिया तथा बेलायती मिडियाहरुले गरेको दावीलाई मान्ने हो भने हालाण्ड भित्र्याउने दौडमा सिटी अगाडी देखिएको छ।
सिटी र हालाण्ड बीच एक प्रकारको सहमति भइसकेको जर्मन तथा बेलायती मिडियाहरुको दावी छ। खबरमा आएअनुसार सिटी र हालाण्ड बीच अप्रिलमै मौखिक सहमति भएको हो। हालाण्ड र सिटी बीच मौखिक सहमति भइसकेको र यहि साता सम्झौता बारे घोषणा हुन सकने द एथलेटिकले जनाएको छ।
आउने केहि दिन भित्रै सिटीले हालाण्डको विषयमा डर्टमन्डलाई जानकारी गराउने बताइन्छ। त्यसपछि हालाण्डको रिलिज क्लज बराबरको रकम सिटीले डर्टमन्डलाई तिर्नेछ। हालाण्डको सम्झौतामा ७५ मिलियन युरोको रिलिज क्लज रहेका कारण हालाण्डको ट्रान्सफरका लागि डर्टमन्डको खासै भूमिका रहँदैन।
सन् २०२० को जनवरीमा हालाण्ड डर्टमण्ड आएका थिए। त्यसयता उनले ८५ खेलमा ८८ गोल गरिसकेका छन्। हालाण्डमा सिटीका अलावा रियल म्याड्रिड, बार्सिलोना, बायर्न म्युनिख र पेरिस सेन्ट-जर्मेन जस्ता शीर्ष युरोपेली क्लबहरूको नजर थियो।

