काठमाडौँ – स्थानीय तहको निर्वाचनमा सिके राउतको नेतृत्वमा रहेको जनमत पार्टीले खाता खोलेको छ। जनमत पार्टीले वडा अध्यक्षमा आइतबार खाता खोलेको हो।
जनमत पार्टीका सुरेन्द्र मण्डल सप्तारीको हनुमाननगर कङ्कालिनी नगरपालिकाको वडा नम्बर एक विजयी भए। मण्डलले जनता समाजवादी पार्टी नेपालका गजेन्द्रप्रसाद माझीलाई पछि पारेको जानकारी प्राप्त भएको छ।
निर्वाचन अधिकृत उत्तम श्रेष्ठका अनुसार मण्डलले १६७० मत प्राप्त गर्दा जनता समाजवादी पार्टी नेपालका गजेन्द्रप्रसाद माझीले ४८४ मत प्राप्त गरे। एमालेका जगदीश मंडल ४१० मत, कांग्रेसका गगनकुमार मन्डलले २१४ मत र माओवादीका ध्रुबनारायण मण्डलले २५ मत मात्र मात्र प्राप्त गरेको श्रेष्ठले बताए।
चार वटा वडाको मत गणना सकिँदा वडा नम्बर २, १३ र १४ मा भने जसपाका उम्मेदवार विजयी भएका छन्। नगरपालिकाको मेयरमा जनमत पार्टीका विरेन्द्र माझी शिर्ष स्थानमा छन्। उनले २५ सय ९३ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा जसपाका शैलेशकुमार साह छन्। उनले २ हजार ६२ मत प्राप्त गरेका छन्।

