लिभरपुल — योर्गन क्लोप भन्छन्, ‘हामी त्यसै युरोपेली च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेका होइनौं, यसमा जादु छैन । हामी यसका लागि हकदार छौं ।’
स्टाडे डे फ्रान्समा शनिबार हुने फाइनलमा लिभरपुलको बाटोमा चुनौती तेर्साएर बसेको हुनेछ रियल म्याड्रिड । चार वर्षअगाडि पनि लिभरपुलले च्याम्पियन्स लिग खेलेको थियो । क्लबका गुरु थिए तिनै क्लोप । किभमा सम्पन्न उक्त फाइनलमा लिभरपुल उही रियलसँग ३–१ ले पराजित रह्यो ।
त्यसमा गोलरक्षक लोरिस कुरियसले दुई ठूला गल्ती गरे अनि मोहम्मद सलाह चोट बोक्दै चाँडै मैदान छाड्न बाध्य रहे । क्लोप त्यो खेल सम्झेर अहिले भन्छन्, ‘त्यो रात हाम्रा लागि खुबै पीडादायी रह्यो ।’
तर त्यसको एक वर्षपछि नै लिभरपुलका लागि खुसी फर्केको थियो । म्याड्रिडमा भएको खेलमा लिभरपुलले टोटेनहमलाई हराएर छैटौंपल्ट च्याम्पियन्स लिग जित्यो । त्यो फाइनलका लागि लिभरपुलले आफ्ना सबै समस्या सच्याएको थियो ।
त्यसपछि त क्लोपले लिभरपुलको लिग उपाधिका लागि ३० वर्षको पखाईमा पनि पूर्णविराम लगाए । सन् २०२० मा लिभरपुल इंग्लिस प्रिमियर लिग जित्न पनि सफल रह्यो । लिभरपुल आएबित्तिकै क्लोप भन्थे, ‘यदि म लिभरपुलमा चार वर्ष रहें भने कम्तीमा एक उपाधि जित्नेमा म विश्वस्त छु ।’
अहिले त्यसो भनेको पनि ७ वर्ष भइसक्यो । अहिले तत्काल लिभरपुल एकै सिजन तीन ठूला उपाधि जित्ने संघारमा छ । त्यसमध्ये लिग कप र एफए कप त जितिसकेको छ । शनिबार फाइनल खेल लिभरपुलले यो सिजन खेल्ने ६३ औं खेल हुनेछ ।
त्यसको अर्थ लिभरपुलले आफू सहभागी सबै प्रतियोगिताको अन्तिम खेल खेलेको छ । घरका दुई कप जिते पनि लिरभपुललाई इंग्लिस प्रिमियर लिग जित्न म्यानचेस्टर सिटीले रोकेको थियो । व्यवस्थापक क्लोप भन्छन्, ‘च्याम्पियन्स लिग सफलताविना पनि हाम्रा लागि यो सिजन राम्रो रहने छ । यदि हामी च्याम्पियन्स लिग जित्न सक्यौं भने हाम्रा लागि यो सिजन वास्तवमै उत्कृष्ट रहनेछ ।’
– कान्तिपुर दैनिकबाट