च्याम्पियन्स लिग फाइनल: को बन्ला युरोपको राजा ?

एजेन्सी – यो सिजनको युइएफए च्याम्पियन्स लिगको फाइनलमा आज राति स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब लिभरपुलबीच प्रतिस्पर्धा हुँदैछ ।

पेरिसमा राति १२ः४५ बजे हुने फाइनलमा लिभरपुल २०१८ मा भोगेको हारको बदला लिने योजनमा मैदान उत्रदा रियल म्याड्रिड कीर्तिमानी उपाधि जित्ने लक्ष्यमा हुनेछ ।

सन् २०१८ को च्याम्पियन्स लिगको फाइनलपछि यि दुई टोली दुई पटक भिडिसकेका छन् । जसमा एक खेल रियलले ३–१ ले आफ्नो पक्षमा पार्दा अर्काे खेल गोलरहित बराबरीमा सकिएको छ ।

च्याम्पियन्स लिगको फाइनल खेल नै लिभरपुलको लागि रियलविरुद्ध बदला लिने मुख्य अवसर हो । यो सिजन दुई उपाधि जितिसकेको लिभरपुल उत्कृष्ट लयमा रहेको छ । यो सिजन चार उपाधि जित्ने लक्ष्यमा रहेको लिभरपुल इंग्लिस प्रिमियर लिगमा एक अंकले म्यानचेस्टर सिटीसँग पछि पर्दा तेस्रो उपाधि जित्नबाट वञ्चित बन्यो ।

अब लिभरपुल रियललाई हराउँदै यो सिजनको तेस्रो उपाधि जित्न चहान्छ । लिभरपुलका लागि यो पछिल्लो ५ सिजनमा तेस्रो च्याम्पियन्स लिग फाइनल हुनेछ । किभमा भएको त्यो फाइनलमा लिभरपुल रियालसँग ३–१ ले पराजित रहेको थियो भने त्यसलगत्तैको सिजनमा लिभरपुलले मड्रिडमा टोटेनहमलाई हराएर उपाधि जितेको थियो ।

लिभरपुल सातौंपल्ट उपाधि जित्नका लागि बलियो प्रत्याशी रहनेछ । यस्तो गर्न सके लिभरपुलले एसी मिलानको कीर्तिमानसँग बराबरी गर्नेछ । युरोपेली क्लब फुटबलको सर्वाधिक ठूलो उपाधि बढी जित्ने क्लब सूचीको दोस्रो स्थानमा उक्लने छ ।

यो सूचीमा रियाल एक्लै शीर्षस्थानमा छ । उसले कीर्तिमानी १३ पल्ट उपाधि जितेको छ । स्पेनिस महारथी रियाल आफै भने कीर्तिमान १४औं युरोपेली उपाधि जित्ने दाउमा हुनेछ ।

यो सिजन ३१ गोल गरिसकेका लिभरपुलका फरवार्ड मोहम्मद सलाहले यो बदला लिने समय रहेको बताएका छन् । नकआउट चरणमा लिभरपुलले इन्टर मिलान, बेन्फिका र भिल्लारियलको चुनौती पार गरेको थियो भने कार्लो एन्सेलोट्टीको रियलले नकआउट चरणमा पुनरागमन जितको स्वाद चाखेको थियो ।

लिग चरणमा नामै नसुनेको सेरिफ टिरासपोलसँग पराजित रियलले त्यसयता भने साँच्चै राम्रो खेलेको छ । रियलले अन्तिम १६ मा पेरिस सेन्ट जर्मेन (पिएसजी), क्वाटरफाइनलमा चेल्सी र सेमिफाइनलमा म्यानचेस्टर सिटीजस्तो बलियो टोलीको चुनौती पन्छाएको थियो । सबैमा करिम बेन्जेमा नै नायक बनेका थिए ।

पिएसजीविरुद्ध दोस्रो लेगमा ह्याट्रिक, चेल्सी र म्यानचेस्टर सिटीविरुद्ध दोस्रो लेगमा निर्णायक गोल गरेका थिए । अहिले ३४ वर्षीय फ्रान्सेली खेलाडी बेन्जेमा आफ्नो खेलजीवनकै उत्कृष्ट लयमा छन् । उनले यस सिजन ४४ गोल गरिसकेका छन्, त्यसमा १५ गोल त युरोपेली प्रतियोगिताको हो ।

पछिल्लो ९ सिजनमा रियल पाँचौं च्याम्पियन्स लिग उपाधिको लक्ष्यमा छ । यो सन् २०१४ मा सुरु भएको थियो, जतिबेला रियलले फाइनलमा छिमेकी एट्लेटिको मड्रिडलाई हराएको थियो । त्यसपछि रियलले लगातार ह्याट्रिक उपाधि जित्न सफल भएको थियो ।

प्रकाशित : शनिबार, जेठ १४, २०७९१३:३१

रियल समर्थकको सुझाव – ‘लिभरपुल हार्छ, बेकार खर्च नगर, घरमा रुँदै सुत’