लियोनल मेस्सीको नेतृत्वमा कोपा अमेरिका विजेता अर्जेन्टिनाले आज राति फाइनालिसिमा खेलमा युरो विजेता इटालीविरुद्ध खेल्नेछ। फाइनालिसिमाको २०२२ को संस्करण कोपा अमेरिकाका विजेताको युरो विजेता विरुद्धको भिडन्तको तेस्रो संस्करण मात्र हो। सन् १९९३ यता पहिलो पटक आयोजना गरिएको हो।
फाइनालिसिमा, युइएफए र कोनमेबोल बीच सहमत भए अनुसार एक खेलको आधारमा दुई महादेशका च्याम्पियन्स बीच प्रतिस्पर्धा हुनेछ। च्याम्पियनहरू बीचको भिडन्त, जुन वेम्बली स्टेडियममा हुनेछ, मा अतिरिक्त समय हुनेछैन। यसको मतलब ९० मिनेटपछि पनि खेल बराबरीमा रहेमा खेल सिधै पेनाल्टीमा जानेछ।
गत वर्ष भएको युरोपियन च्याम्पियनसिपमा फाइनल खेलमा इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटाली २०२० युरो विजेता बन्न सफल भएको थियो। उक्त खेल पनि वेम्बलीमा भएको थियो। त्यस्तै, गत वर्ष नै ब्राजिलमा भएको कोपा अमेरिकाको फाइनलमा घरेलु टोली ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिना २८ वर्षपछि प्रमुख प्रतियोगिताको उपाधि जित्न सफल भएको थियो।
फिफाले आजको खेललाई आधिकारिक मान्यता दिएको छ। यसको मतलब आजको खेल जितेर उपाधि जित्ने टोलीको क्याबिनेटमा एक आधिकारिक उपाधि जानेछ। आजको खेलमा अर्जेन्टिनाले जितेको खण्डमा मेस्सीको नाममा दुई अन्तराष्ट्रिय उपाधि हुनेछ।
अर्जेन्टिना र इटाली बीचको खेल आज राति नेपाली समय अनुसार १२:३० बाट सुरु हुनेछ। यो खेलमा नेपालमा भारतीय च्यानल सोनी स्पोर्ट्स नेटवर्कमा हेर्न सकिन्छ।